यूएईले दियो १११ जना नेपाली कैदीबन्दीलाई आममाफी
काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई)सरकारले १११ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ।
ईद अल–अधा २०२६ का अवसरमा यूएई सरकारले ती नेपालीलाई माफी दिएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ। नेपाली कैदीबन्दीलाई प्रदान गरिएको माफीप्रति सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले माफीको सदाशयपूर्ण कदमलाई नेपाल र यूएईबीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्याङ्कन गरेको जनाएको छ।
मन्त्रालयको निर्देशनानुसार आबुधाबीमा रहेको नेपाली दूतावासले गरेको अनुरोधको प्रत्युत्तरस्वरूप यूएई सरकारले माफी दिएको विज्ञप्तिमा उल्लेख छ ।
शाही माफी पाएका ती नेपाली कैदीबन्दी यूएईको आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन् ।
