व्यवसायीलाई हतोत्साही बनाउन धरपकड गरेको होइन्: प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सरकारले उद्योगी व्यवसायीलाई हतोत्साही बनाउन धरपकड नगरेको बताएका छन् ।

निजी क्षेत्रसँगको बुधवारको छलफलमा प्रधानमन्त्री बालेनले सरकारको नीति उद्योगीलाई धरपकड गर्ने नरहेको पनि बताए । उनले भने, ‘सरकारको नीति उद्योगी व्यवसायीलाई धरपकड गर्ने होइन । तर अपराध नै भएको भए त अनुसन्धानको दायरामा ल्याउनै पर्‍यो।

सरकार निजी क्षेत्रलाई हतोत्साहित गर्ने मनस्थितिमा कहिल्यै नरहेको बालेको भनाइ छ । निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउन सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री बालेनले उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन्।

छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा सहभागी थिए।