समिति बनाएर बत्ती आउँदैन, सक्षम नेतृत्व चाहिन्छ: कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले हाल देशभर देखिएको विद्युत् आपूर्ति समस्या (झ्याप्प-झ्याप्प बत्ती जाने)को मुख्य कारण प्राधिकरणको लामो समयदेखिको नेतृत्वविहीनता रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै घिसिङले वर्षायाममा प्राविधिक कारणले केही समय विद्युत् अवरुद्ध हुनु स्वाभाविक भएको उल्लेख गरे। तर, यस्ता समस्या समाधान गर्न सक्षम, अनुभवी र निर्णयक्षमता नेतृत्व आवश्यक पर्ने उनको भनाइ छ।

‘दुर्भाग्यवश, देशको महत्त्वपूर्ण सार्वजनिक संस्था नेपाल विद्युत् प्राधिकरण लामो समयदेखि नेतृत्वविहीन अवस्थामा छ र मूकायमको भरमा सञ्चालन भइरहेको छ,घिसिङले लेखेका छन्, ‘यस्तो संस्थालाई नेतृत्वविहीन बनाएर समस्या समाधानको अपेक्षा गर्नु सरकारको अदूरदर्शिता हो।

उनले भने,समस्या देखिनेबित्तिकै मन्त्रालयले समिति गठन गरेर जिम्मेवारीबाट पन्छिन खोज्छ । तर समिति बनाएर विद्युत् प्रणाली चल्दैन, निर्णय गर्न सक्ने पूर्णकालीन नेतृत्व चाहिन्छ।’

घिसिङले प्रशासनिक अन्योल, निर्णयमा ढिलासुस्ती र राजनीतिक हस्तक्षेपका कारण जनताले सास्ती भोग्नुपरेको बताए । ऊर्जा क्षेत्रलाई राजनीतिक प्रयोगशाला बनाउन नहुने उनको चेतावनी छ।

यदि सरकारले ऊर्जा सुरक्षालाई साँच्चै प्राथमिकता दिएको हो भने, नेपाल विद्युत् प्राधिकरणलाई तत्काल पूर्णकालीन, सक्षम र स्वायत्त नेतृत्व दिनुपर्छ,घिसिङले भने,अन्यथा आजको झ्याप्प-झ्याप्प बत्ती भोलिको ठूलो संस्थागत सङ्कटमा बदलिन सक्छ।

उनले प्रसारण तथा वितरण लाइनको निर्माण छिटो सम्पन्न गर्ने, प्रणालीको आधुनिकीकरण गर्ने, नियमित मर्मतसम्भार र आपत्कालीन प्रतिक्रिया प्रणालीलाई मजबुत बनाउन पनि सरकारको ध्यानाकर्षण गरेका छन्।