भुटानी शरणार्थी प्रकरण: बालकृष्णलाई २ वर्ष कैद, टोपबहादुर र टेकनारायणलाई ४ वर्ष

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वगृहसचिव टेकनारायण पाण्डेसहितका कसुरदारहरूलाई जिल्ला अदालत काठमाडौंले कैद र जरिबानाको सजाय तोकेको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार यस प्रकरणमा दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारण गरेको हो।

अदालतको फैसलाअनुसार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई एकीकृत कसुरतर्फ जनही ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना तोकिएको छ।

रायमाझीलाई ठगीमा २ वर्ष, सङ्गठित अपराधमा ३ वर्ष र राज्यविरुद्धको कसुरमा डेढ वर्ष तथा थप ६ महिना कैद गरी एकीकृत रूपमा ४ वर्षको सजाय सुनाइएको हो।

पाण्डेलाई पनि ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गर्दै सोहीबमोजिमको एकीकृत सजाय तोकिएको छ।

यसैगरी, पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई एकीकृत तर्फ २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको सजाय निर्धारण गरिएको छ।

उनलाई ठगीमा १ वर्ष, सङ्गठित अपराधमा १ वर्ष ६ महिना, र राज्यविरुद्धको कसुरमा ६ महिना तथा थप ३ महिना कैद सजाय तोकिएको थियो।

प्रकरणका मुख्य योजनाकार मानिएका बिचौलियाहरू केशवप्रसाद दुलाल र सानु भण्डारीलाई पनि समान ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबानाको सजाय तोकिएको छ।

उनीहरूलाई सरकारी लिखत किर्ते, ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गर्दै अदालतले एकीकृत रूपमा उक्त सजाय सुनाएको हो। यस्तै सजाय पाउने अन्यमा सन्देश शर्मा, आङटावा शेर्पा, सागर राई र विक्रम भन्ने गोविन्द कुमार चौधरी रहेका छन्।

भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको फैसला सुनाइएको छ।

पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार डा। इन्द्रजित राईलाई ४ वर्ष कैद तोकिए पनि उनको उमेर ७५ वर्षभन्दा माथि रहेका कारण सजायमा केही छुट दिइएको छ। राईले अब ३ वर्ष २ महिना १० दिन कैद र ४० हजार रुपैयाँ जरिबाना भुक्तान गर्नुपर्नेछ।

यस प्रकरणमा जोडिएका अन्य कसुरदारहरू नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेललाई भने जनही १ वर्ष कैद र १० हजार रुपैयाँ जरिबानाको सजाय तोकिएको छ।

यसअघि गत असार २३ गते काठमाडौं जिल्ला अदालतले यस प्रकरणका कुल ३१ प्रतिवादीमध्ये १५ जनालाई दोषी ठहर गरेको थियो भने ७ जनालाई सफाइ र ८ जनाको मुद्दा मुल्तबीमा राख्ने आदेश दिएको थियो।

सोही फैसलाका आधारमा मंगलबार कसुरदारहरूको सजायको अन्तिम निर्धारण गरिएको हो।