सरकारको चर्को आलोचना हुन थालेपछि रवि र प्रधानमन्त्री बालेन सँगै संसद बैठकमा पुगे

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ प्रतिनिधिसभाको बैठकमा सहभागी भएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठक चलिरहँदा प्रधानमन्त्री बालेन बैठक कक्षमा पुगेका हुन्। उनी रास्वपा सभापति रवि लामिछानेसँगै बैठक कक्षमा प्रवेश गरेका छन्।

विपक्षी दलहरूले गत १७ जेठमा प्रधानमन्त्री बालेनले दिएको नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राख्दै विरोध गर्दै आएका छन्।

पछिल्लो समय सांसदहरूले सरकारका गतिविधिबारे प्रश्न उठाइरहेका छन्। सुकुम्बासीलाई गरिएको व्यवस्थापनमा सरकारपक्षले गरेको हेलचेक्याइँको विषय पेचिलो बन्दै जाँदा संसदमा समेत उक्त विषयले प्राथमिकता पाएको देखिन्छ।

सम्भवत प्रधानमन्त्री शाहले आज संसदमा उठेका प्रश्नको जवाफ दिनेछन्। यद्यपि, यसबारे कार्यसूचीमा उल्लेख छैन। प्रधानमन्त्रीले आकस्मिक रूपमा संसदमा बोल्न सक्छन्।