ट्राफिक जरिबाना नतिरे श्रम शिविरमार्फत असुल्ने तयारी,तीन पटक स्पिड उल्लंघन गरे ५० हजारसम्म जरिबाना

काठमाडौं । सरकारले सवारी चालकले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिबाना श्रममार्फत असुल गर्ने व्यवस्था ल्याउने तयारी गरेको छ।

प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै पूर्वाधारमन्त्री सुनिल लम्सालले ट्राफिक नियम उल्लंघनको जरिबाना रकम श्रम शिविरमा काम गराएर समेत असुल गर्न सकिने व्यवस्था समेटेर नयाँ कानुनको मस्यौदा गरिएको जानकारी दिए।

मन्त्री लम्सालले अहिलेको ट्राफिक जरिबाना रकम निकै कम रहेको बताए। उनले एकैपटक ५० हजार रुपैयाँ जरिबाना लिने भन्ने चर्चा भए पनि त्यो सबै अवस्थामा लागू नहुने स्पष्ट पारे।

उनका अनुसार सवारी चालकले गति सीमा (स्पिड लिमिट) तीन पटक उल्लंघन गरेमा ५० हजार रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने व्यवस्था गर्न लागिएको हो। पटक–पटक गम्भीर नियम उल्लंघन गरे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) रद्द गर्न सकिने प्रावधानसमेत राखिएको उनले बताए।

मन्त्री लम्सालका अनुसार प्रस्तावित कानुनमा नगद जरिबाना तिर्न नसक्ने वा नतिर्ने व्यक्तिले सरकारी श्रमदानमार्फत जरिबाना बराबरको दायित्व पूरा गर्न सक्ने व्यवस्था राखिएको छ। उनले ट्राफिक नियम पालना गराउन जरिबाना प्रणालीलाई प्रभावकारी बनाउन र सडक सुरक्षामा सुधार ल्याउन नयाँ व्यवस्था गर्न लागिएको बताए।