खगेन्द्र सुनार भने -नेल लगाएर आएको हो, बाको,दाइ-भाउजूको हातखुट्टामा तेल लगाएर होइन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आत्मदाह गरेका मुगुका गणेश नेपालीलाई बचाउन आफूहरूले गृहमन्त्रीसँग समन्वय गरेर रातदिन प्रयास गरे पनि सफल हुन नसकेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनारले गणेश नेपाली घटनामा संलग्न दोषीमाथि कारबाहीका लागि सरकारले छानबिन प्रक्रिया अघि बढाएको भन्दै धन्यवाद दिए। उनले घटनालाई राजनीतिक र जातीय रंग दिएर आफूलाई प्रश्न गरिएको भन्दै आपत्ति जनाए।

‘यसमा यति धेरै राजनीतिक, धेरै जातीय रङ्ग पोतियो। सदन र सडकमा पनि कहाँ गयो खगेन्द्र सुनाररु हिजो नेल लगाएर आएको खगेन्द्र सुनार कहाँ गएको छ भनेर खोजियो,उनले भने।

सुनारले गणेश नेपालीको मृत्यु आफूलाई व्यक्तिगत रूपमा पनि पीडादायी भएको बताए। ‘यो जातीय रूपमा भएको घटना मात्र होइन। मेरो घरको मान्छे, मेरो थरको मान्छे मरेको छ, मलाई त्यसको पीडा छ,उनले भने। उनले आठ वर्षअघि रुकुमको सोती घटनामा ६ जनाको हत्या हुँदा आफूलाई प्रश्न गर्नेहरू अहिले कहाँ थिए भन्दै प्रतिपक्षीमाथि प्रश्न उठाए।

अहिले बालेनको मुर्दावाद भन्ने क्रान्तिकारी साथीहरू, तपाईंहरूको छेउमा बसेको मित्र गृहमन्त्री हुँदा ६ जना मान्छेको हत्या भएको थियो। त्यतिबेला त्यसको विरोध गर्ने दम थियो ? उनले प्रश्न गरे।

सांसद सुनारले गणेश नेपालीका परिवारको जिम्मा सरकारले लिनुपर्ने बताए। उनले आफूले विगतमा लगाएको नेल र संघर्षको प्रसंग उल्लेख गर्दै भने, ‘यहाँ छ खगेन्द्र सुनार। यो नेल लगाएर आएको खगेन्द्र सुनार हो, कसैको हातखुट्टामा तेल लगाएर आएको होइन। उनले विद्रोह र विरोध गर्ने समय तथा तरिका बुझेर आफूहरू अघि बढेको पनि बताए।