‘आमा पहिलो’ कार्यक्रममार्फत स्वामिकार्तिकमा खाद्यान्न वितरण, ७२१ घरधुरीका आमाहरू प्रत्यक्ष लाभान्वित
काठमाडौं। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाले ‘आमा पहिलो’ कार्यक्रमअन्तर्गत खाद्य सुरक्षालाई प्राथमिकतामा राख्दै विभिन्न वडाका आमाहरूलाई खाद्यान्न वितरण गरेको छ। कार्यक्रममार्फत वडा नं.३ का ५५० घरधुरी तथा वडा नं. १ अन्तर्गत जोरु र बर्कु क्षेत्रका १७१ घरधुरीका आमाहरूलाई जनही ५० किलोग्रामका दरले चामल वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायका अनुसार ‘आमा पहिलो’ कार्यक्रम मातृ सम्मान, परिवारको खाद्य सुरक्षा तथा विपन्न समुदायलाई राहत उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको बताए। उनले गाउँपालिकाभित्रका आवश्यकताका आधारमा विभिन्न वडामा चरणबद्ध रूपमा खाद्यान्न वितरण भइरहेको जानकारी दिए।
अध्यक्ष रोकायले आमाहरू परिवारको आधारस्तम्भ भएकाले उनीहरूको जीवनस्तर सुधार र खाद्य सुरक्षालाई केन्द्रमा राखेर स्थानीय सरकारले कार्यक्रम अघि बढाएको बताए। उनले आगामी दिनमा पनि लक्षित वर्गका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने खालका सामाजिक सुरक्षा तथा जनमुखी कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे।
गाउँपालिकाका अनुसार यस चरणमा मात्रै वडा नं.३ का ५५० र वडा नं.१ का जोरु तथा बर्कु क्षेत्रका १७१ गरी कुल ७२१ घरधुरीका आमाहरू कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित भएका छन्। प्रत्येक लाभग्राहीलाई ५० किलोग्राम चामल उपलब्ध गराइएको छ।
स्थानीयवासीहरूले दुर्गम क्षेत्रमा खाद्यान्नको पहुँच सहज बनाउन र आर्थिक रूपमा कमजोर परिवारलाई राहत पुग्ने गरी सञ्चालन गरिएको कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूले यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा समेत निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन्।
स्वामिकार्तिक खापर गाउँपालिकाले ‘आमा पहिलो’ कार्यक्रमलाई मातृ सम्मानसँगै सामाजिक संरक्षण र खाद्य सुरक्षासँग जोडिएको महत्त्वपूर्ण अभियानका रूपमा अघि बढाउँदै आएको जनाएको छ।
