टी–२० विश्वकप २०२८: नेपालले सीधै ग्लोबल क्वालिफायर खेल्ने
काठमाडौं। नेपालले सन् २०२८ को टी–२० विश्वकपका लागि सीधै ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको छ। स्कटल्यान्डको एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले टी–२० विश्वकप र एकदिवसीय विश्वकपमा नयाँ ढाँचा अनुमोदन गरेको हो ।
आईसीसीका अनुसार सन् २०२६ को टी–२० विश्वकप खेलेका तर स्वतः विश्वकपमा स्थान बनाउन नसकेका टोलीहरूले सीधै ग्लोबल क्वालिफायरमा खेल्ने पाउनेछन् । स्कटल्यान्डले भने २०२६ को प्रदर्शनका आधारमा सीधै ‘युरोप क्षेत्रीय छनोट’ को फाइनलमा स्थान बनाउनेछ।
ग्लोबल क्वालिफायरका बाँकी ८ ठाउँमा अफ्रिका, एशिया र युरोपबाट २–२ टोली तथा अमेरिका र पूर्वी एशिया–प्रशान्त क्षेत्रबाट १–१ टोली छनोट हुनेछन्।
ग्लोबल क्वालिफायरमा प्रत्येक क्षेत्रको शीर्ष टोली र अन्य ३ उत्कृष्ट टोली गरी ८ टोली सन् २०२८ को विश्वकपमा छनोट हुनेछन् ।
आईसीसीको नयाँ ढाँचाअनुसार अब टी–२० विश्वकपको समूह चरणमा २० टोलीलाई चार वटा समूहको सट्टा पाँच वटामा विभाजन गरिनेछ । हरेक समूहमा ४–४ टोली हुनेछन् ।
यस्तै पहिलेको ‘सुपर एट’ को सट्टा अब ‘सुपर टेन’ हुनेछ । यसमा हरेक समूहका शीर्ष दुई टोलीलाई दुई वटा समूहमा बाँडिनेछ ।
‘सुपर टेन’ बाट दुवै समूहका शीर्ष टोली सीधै सेमिफाइनलमा पुग्नेछन्। यस्तै दोस्रो र तेस्रो स्थानमा रहने टोलीहरूले सेमिफाइनलमा पुग्न एक–अर्कासँग ‘एलिमिनेटर’ खेल्नुपर्नेछ।
यस्तै १४ टोली सहभागी हुने एकदिवसीय विश्वकप अब तीन चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा पुछारका तीन टोली ९१२औँ, १३औँ र १४औँ स्थान० बीच ‘सुपर सिरिज’ हुनेछ । यसको विजेता अर्को चरणमा प्रवेश गर्नेछ।
दोस्रो चरणमा १२ टोलीलाई दुई वटा समूहमा विभाजन गरिनेछ । दुवै समूहका शीर्ष तीन टोली र समग्रमा अर्को एक उत्कृष्ट टोली गरी सात वटा टोली अर्को चरणमा पुग्नेछन्।
‘सुपर सेभेन’ मा सातै टोलीले एकअर्कासँग खेल्नेछन् । यस चरणको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्।
यसअघि एकदिवसीय विश्वकपमा १४ टोलीलाई दुई वटा समूहमा विभाजन गरिन्थ्यो । यसबाट शीर्ष तीन टोली ‘सुपर सिक्स’ मा पुग्ने गर्दथे। ‘सुपर सिक्स’ का दुई समूहका शीर्ष २ टोलीले सेमिफाइनल खेल्थे ।
