सामाजिक निराशा र असन्तुष्टि चिर्न-सरकार र प्रतिपक्ष मिल्न जरुरी: विश्वप्रकाश शर्मा
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।
मंगलवार काठमाडौँमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तक बुद्ध, बीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आत्मदाहजस्ता गम्भीर घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय नबनाई सरकार र प्रतिपक्ष मिलेर समाधान खोज्नुपर्नेमा जोड दिए।
उनले गणेश नेपालीको आत्मदाहको घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाई मानवीय संवेदनाको रूपमा हेर्नुपर्ने कुरामा पार्टी गम्भीर रहेको पनि बताए। उनले प्रेम आचार्यको आत्मदाहको घटनालाई स्मरण गर्दै नागरिकको असन्तुष्टि र निराशा अझै पनि कम हुन नसकेकोमा चिन्ता व्यक्त गरे।
शर्माले भने,कतिपयलाई लाग्यो-गणेश नेपालीले आत्मदाह गरेपछि नेपाली काँग्रेसले यसलाई सरकारलाई घेर्ने मुद्दाको रूपमा उठाउनेछ। तर हामीले सोच्यौँ प्रेम आचार्यले पुराना भनिएका दलहरूको पालामा आत्मदाह गर्नुभयो। आखिर हिजो किन त्यसो भयो?आज पनि किन त्यसो हुँदै छ। हिजो हामीसँग किन नागरिक असन्तुष्ट रहे ? अहिले पनि फेरि निराशा किन बढ्दै छ।
त्यसैले यो एउटाले अर्कोलाई दोषारोपण गर्ने विषय होइन। यो गम्भीरतापूर्वक सोच्ने कुरा हो‚ नेपाली समाजमा यो प्रकारको गम्भीर निराशा किन फैलिदै छरु यो निराशासँग जुध्न सरकार र प्रतिपक्ष हामी सबै सँगसँगै उभिनुपर्छ।
उपसभापति शर्माले पुराना राजनीतिक दलहरूको समयदेखि नयाँ भनिएका राजनीतिक दलको समयसम्म सामाजिक निराशा कम हुन नसकेको भन्दै यससँग जुध्न सरकार र प्रतिपक्ष सँगसँगै उभिनुपर्नेमा जोड दिए।
