आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको जानकारी दिएको छ।

हाल सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ, बाँकी भूभागमा साधारणतया बादल लागेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै तराई भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भूभागको थोरै स्थान मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा सुदुरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग, मधेश प्रदेश लगायत लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा भारी तथा एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।