एयरलाइन्स कम्पनीले लापरवाही गरेर उडान ढिला वा रद्द भए, यात्रुलाई क्षतिपूर्ति दिनुपर्ने

काठमाडौं। कम्पनीको लापरवाहीका कारण हवाई उडान ढिला वा रद्द भए एयरलाइन्स कम्पनीले यात्रुलाई क्षतिपूर्ति दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रस्ताव गरेको ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी ऐन, २०८३’ सो व्यवस्था उल्लेख गरिएको हो । मन्त्रालयले सो प्रस्तावित ऐन संघीय संसदमा दर्ता गराइसकेको छ।
उक्त प्रस्तावित ऐनमा सरकारले कम्पनीको लापरवाहीका कारण उडान ढिलो वा रद्द भए यात्रुले क्षतिपूर्ति दाबी गर्न सक्ने र सम्बन्धित कम्पनीले क्षतिपूर्ति दिनुपर्ने उल्लेख गरिएको छ।
कारणबस् उडान ढिलो हुने वा स्थगित हुने अवस्था आए कम्पनीले कम्तीमा ३ घण्टा अगाडि यात्रुलाई सोको जानकारी गराउनुपर्नेछ।
त्यस्तै, उक्त प्रस्तावित ऐनमा उडान ढिलाई र रद्द मात्र होइन दुर्घटना, सामान हराउने वा क्षति हुने लगायतका अवस्थामा समेत एयरलाइन्स कम्पनीलाई आर्थिक क्षतिपूर्ति तिराउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
