अप्ठेरोमा परेकालाई घरमा ग्यास पुर्याइने

काठमाडौं। चितवन जिल्ला प्रशासनले अप्ठेरोमा परेकालाई खाना पकाउने ग्यास अभाव भएमा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
एकल महिला, वृद्ध, अपाङ्ग, छात्रावासका विद्यार्थी, आश्रम तथा अत्यावश्यक ठाउँमा ग्यास उद्योगीले डिलर हुँदै सब डिलरमार्फत अप्ठेरोमा परेका व्यक्तिका घरमा खाना पकाउने (एलपी) ग्यास पुर्याउने व्यवस्था मिलाएको छ।
आज जिल्ला प्रशासन कार्यालय र ग्यास उद्योगी तथा डिलरसँगको छलफलपछि उक्त व्यवस्था मिलाइएको हो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अशक्त र अपाङ्गले ग्यास नपाएको खबर पाए घरमा नै ग्यास पठाउने व्यवस्था गरिएको बताए।
व्यक्ति विशेषले समेत ग्यास नपाएमा टोल फ्री नम्बरमा फोन गर्न प्रशासनले अनुरोध गरेको छ।
जिल्लामा बाबा, साइबाबा र नेपाल ग्यास उद्योग छ। गैँडाकोटमा रहेको जानकी ग्यासको बजार क्षेत्र चितवन हो। चारै उद्योगका सञ्चालकले पहिलेको तुलनामा ग्यास अभाव नहुने जानकारी दिएका छन्।
बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले पहिलेको तुलनामा पर्याप्त ग्यास आएकाले बजारमा अभाव नहुने बताए।
