‘पदाधिकारी नहुँदा एमबीबीएस र नर्सिङ प्रवेश परीक्षा अन्योलमा’

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले चिकित्सा शिक्षा आयोगमा निर्देशकहरू नियुक्त नहुँदा एमबीबीएस र नर्सिङ लगायतको प्रवेश परीक्षा अन्योलमा भएको बताएका छन्।

मङ्गलवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद मल्लले आयोग पदाधिकारीविहीन हुँदा चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा र समग्र शैक्षिक सत्र प्रभावित भएको बताएका हुन्।

आयोगले सार्वजनिक गरेको शैक्षिक क्यालेण्डरअनुसार साउनको पहिलो हप्ताभित्रै एमबीबीएससहित चिकित्सा शिक्षाका १७ वटा शैक्षिक कार्यक्रमका लागि आवेदन आह्वान गरिसक्नुपर्ने थियो। सरकारले आयोगका पदाधिकारीहरूलाई अध्यादेशमार्फत पदमुक्त गरेपछि हालसम्म नयाँ निर्देशकहरूको नियुक्ति हुन सकेको छैन। निर्देशक नहुँदा कलेजहरूको कोटा निर्धारण र प्रवेश परीक्षा सञ्चालनजस्ता महत्त्वपूर्ण काम ठप्प भएको सांसद मल्लले उल्लेख गरे।

उनले कक्षा १२ को नतिजा सार्वजनिक हुनुलाई सरकारले ठुलो उपलब्धिको रूपमा व्याख्या गरे पनि अर्कोतर्फ चिकित्सा शिक्षाको प्रवेश परीक्षा धकेलिँदै जानु दुःखद भएको टिप्पणी गरे।

मल्लले भने, ‘एक महिनादेखि करिब ६० हजार विद्यार्थी प्रवेश परीक्षाको तयारी गरेर बसेका छन् तर आवेदनसम्बन्धी सूचना आउन सकेको छैन। यसले विद्यार्थी र अभिभावक दुवैलाई गम्भीर अन्योलमा पारेको छ।’

सांसद मल्लले सरकारको कार्यशैलीप्रति समेत प्रश्न उठाए। राहदानी ९पासपोर्ट० लिन नागरिकहरूले लामो लाइन बस्नुपरेको, सरकारी सेवा प्रवाह सुस्त रहेको, बजारमा ग्याँस र मलको अभाव कायमै रहेको तथा बढ्दो महँगीले जनता सास्ती भोग्न बाध्य भएको उनको भनाइ छ।