लिपुलेक हुँदै भारत र चीनले गरे व्यापार शुरु, सीडीओले गराए गृह मन्त्रालयलाई जानकारी

काठमाडौं। नेपालको विरोधको बेवास्ता गर्दै भारत र चीनले लिपुलेक हुँदै द्विदेशीय व्यापार शुरु गरेका छन्। चीनले पहिलो चरणमा २० भारतीय व्यापारीलाई तिब्बत जान अनुमति दिएको भारतीय सञ्चारमाध्यमले बताएका छन्। भारतले १५५ वटा वस्तु आयात गर्ने र त्यसका लागि ६२ व्यापारी र ९३ जना सहयोगी तिब्बत जाने गरी निर्णय गरिसकेको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले लिपुलेक हुँदै १६ जना व्यापारी र चार सहयोगी शनिबार तिब्बत गएको जानकारी पाएको थाहाखबरलाई बताए। त्यसबारे गृह मन्त्रालयलाई अवगत गराइसकेको उनले जानकारी दिए। परराष्ट्र मन्त्रालय स्रोतले भने घटनाक्रमबारे अध्ययन गरिरहेको जनाएको छ।

एक वर्षअघि चीनका विदेश मन्त्री वाङ यी भारत भ्रमणमा गएको बेला भारत र चीनबीच लिपुलेकको बाटो हुँदै व्यापार गर्ने सहमति भएको थियो। भारतका विदेशमन्त्री एस जयशंकर र चीनका विदेश मन्त्री वाङ यीबिच छलफल हुँदा सीमा व्यापारको विषयमा सहमति भएको थियो।

त्यसअघि २०८१ पुसमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल चीन भ्रमणमा गएको बेला कैलाश मनोसरोवार यात्रा पुनः शुरुवात गर्ने सहमति भएको थियो।

कोभिडदेखि यो क्षेत्र हुँदै व्यापार तथा कैलाश मानसरोवर यात्रा स्थगित थियो। त्यति वेला दुवै देशले यात्रा र व्यापार दुवै पुनः सञ्चालन गर्ने सहमति गरेका थिए। २०७२ जेठमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन गएको समयमा चीनसँग लिपुलेकलाई व्यापारिक तथा दुई देशको तीर्थयात्री आवतजावत गर्ने केन्द्र बनाउने सहमति भएको थियो।

लिपुलेकको विषयमा भारत र चीनबिच सहमति भएपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले परराष्ट्र मन्त्रालयमार्फत् नेपालस्थित भारत र चीनका राजदूतलाई ‘प्रोटेस्ट नोट’ पठाएर आपत्ति जनाएका थिए। त्यतिबेला नेपालले असहमति जनाउँदा जनाउँदै भारतले २०७६ कात्तिकमा जारी गरेको आफ्नो नयाँ नक्सामा लिपुलेक र कालापानीलाई समावेश गरेको थियो।

२०७७ वैशाखमा दार्चुलाको व्यास गाउँपालिका-१ को गुञ्जीदेखि लिपुलेकसम्म सडक बनाएर उद्घाटन गरेको थियो । नेपालले त्यसको पनि विरोध गरेको थियो। त्यसपछि नेपालले पनि आफ्नो नक्सा संशोधन गरी लिपुलेक, कालापानी र लिम्पियधुरालाई समावेश गरेको थियो र संसदमा पास पनि गरेको थियो। २०७७ जेठमा नेपाल सरकारले त्यो नक्सा जारी गरेको थियो।

त्यसो त भारतले कैलाश मानसरोवर जाने बाटो नयाँ नभएको, दशकौँदेखिको भएको बताउने गरेको छ। ‘लिपुलेक पास’ सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको पुरानो मार्ग भएको भारतको जिकिर छ।