रसुवामा पहिरोको जोखिम बढेपछि १० घरधुरीका ३१ जना सुरक्षित स्थानमा सारिए

रसुवा। अविरल वर्षाका कारण जमिन चर्किएर पहिरोको जोखिम बढेपछि रसुवाको नौकुण्ड गाउँपालिका–६ स्थित एकपाखे बस्तीका १० घरधुरीका ३१ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

बस्तीको तल्लो भागको जमिन चर्किएर भासिन सक्ने तथा पहिरोले घरमा क्षति पुर्‍याउन सक्ने जोखिम देखिएपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको समन्वयमा उनीहरूलाई कफ्थलीटारस्थित सार्वजनिक स्थानमा स्थानान्तरण गरिएको हो।

स्थानान्तरण गरिएका १० घरधुरीमा १७ पुरुष र १४ महिला गरी ३१ जना रहेका छन्। उनीहरूको अस्थायी बसोबासका लागि १२ वटा टेन्ट निर्माण गरिएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी पारच्याङबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारेको हो। अविरल वर्षाका कारण जमिन चर्किएपछि बस्तीमा थप जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।