नौवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं। सङ्घीय संसद अन्तर्गत रहेका विभिन्न नौ वटा संसदीय समितिको बैठक आज बस्दैछ ।
आज अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वस्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा ‘नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । बैठकमा अर्थमन्त्री र अर्थसचिवलाई आमन्त्रण गरिएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा होटल एसोसिएसन नेपाललगायतका सरोकारवाला निकायसँग छलफल गर्ने कार्यक्रम छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्दैछ । बैठकमा प्राप्त उजुरीका सम्बन्धमा छलफल हुनेछ ।
यस्तै, कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा नेपालमा जैविक/प्राङ्गारिक मलको उत्पादन, भण्डारण तथा बिक्री वितरणको अवस्था सुधार गर्दै कृषि उत्पादन नघट्ने गरी रासायनिक मलको प्रयोग क्रमशः घटाउने सम्बन्धमा उत्पादकहरूसँग छलफल गर्ने कार्यसूची छ ।
पूर्वाधार विकास समितिको बैठक बिहान १० बजेका लागि तय भएको छ । बैठकमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गतको बागमती ब्युटिफिकेसन आयोजनाका बारेमा छलफल गरिँदैछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीलगायतका विषयमा आयोगका पदाधिकारीसँग छलफल गरिँदैछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१का सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।
सार्वजनिक लेखा समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षणका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा विधायिकी अन्तरसम्बन्धमा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष र कार्यकारी निर्देशकसँग छलफल गर्ने कार्यक्रम छ।
