विद्यालय सञ्चालन गर्न २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने
काठमाडौं। काठमाडौं महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ ।
महानगरपालिकाले बिहीबार जानकारी गराए अनुसार स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेदेखि सञ्चालन हुन सक्नेछन् ।
महानगरका शिक्षा समिति प्रमुख एवं कामपा मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रूपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित विद्यालय सञ्चालनको निर्णय गरेको हो ।
निर्णयमा भनिएको छ– ‘कोभिड महामारीको अहिलेको अवस्थामा बालबालिकाको भविष्य र स्वास्थ्य सबैको चिन्ताको विषय हो ।
यसमा कोही पक्ष वा विपक्ष हुनुभन्दा सबैले विवेकपूर्ण व्यवहार गर्नुपर्छ ।’ बैठकका अध्यक्ष शाक्यले भने– ‘सरकारले गरेका निर्णय विद्यालयहरूले पूर्ण पालना गर्नुपर्छ ।
उनले महानगरले तयार गरेको मापदण्ड सबै विद्यालयले पालना गर्नुपर्ने बताएका छन् । महानगर क्षेत्रका अधिकांंश विद्यालय खुला भइसकेपछि महानगरको बैठकले मापदण्ड पालना गरी विद्यालय खुला गर्ने निर्णय गर्नु अमिल्दो भएको विद्यालय सञ्चालकहरुको भनाइ छ ।
कामपाले विद्यालय सञ्चालन गर्न बालबालिकाको सम्पर्कमा हुने शिक्षक, कर्मचारी, चालक, सह चालकसँगै विद्यालयको सरसफाइ र सुरक्षामा खटिने सबैले कोभिड–१९ विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने उल्लेख गरेको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
