एमाले, माओवादी र नेकपा एसका विद्यार्थी संगठनको यी ११ क्याम्पसमा चुनावी तालमेल
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सत्ता गठबन्धन आबद्ध विद्यार्थी संगठनहरूबीच तालमेल गर्ने सहमति भएलगत्तै मध्यपश्चिम विश्वविद्यालयका ११ वटा क्याम्पसमा माओवादी र नेकपा एस निकट विद्यार्थी संगठनले एमालेनिकट अनेरास्ववियुसँग तालमेल गरेका छन्।
नेकपा एसनिकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले वामपन्थी विद्यार्थी संगठनहरुबीच मध्यपश्चिम विश्वविद्यालयका ११ वटा क्याम्पसमा गठबन्धन बनेको बताए । उनका अनुसार एमालेनिकट अनेरास्ववियुले ६ वटा क्याम्पसमा सभापति पाएको छ।
त्यस्तै माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ३ र नेकपा एसनिकट अनेरास्ववियूले २ क्याम्पसमा नेतृत्व पाएको छ । थप एक शिक्षा क्याम्पसहित ११ वटा क्याम्पसको निर्वाचनमा तालमेल भएको अनेरास्ववियुका अध्यक्ष समिक बडालले बताए।
सहमति अनुसार मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस सुर्खेतसहित तीला कर्णाली कालिकोट, मुसिकोट बहुमुखी र जलजला बहुमुखी क्याम्पसको सभापति अखिल क्रान्तिकारीले पाएको छ । ती ठाउँमा सचिव र कोषाध्यक्ष अनेरास्ववियु र नेकपा एसनिकट अनेरास्ववियूले पाएका छ्न्।
त्यस्तै एमालेनिकट अखिलले नारायण बहुमुखी क्याम्पस दैलेख, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, बबई बहुमुखी क्याम्पस बर्दिया, भेरी ज्ञानोदय बहुमुखी जाजरकोट, भेरी शिक्षा क्याम्पस गुमी जाजरकोट र त्रिवि अन्तर्गतको शिक्षा क्याम्पस सुर्खेतको सभापति पाएको छ।
नेकपा एसनिकट अनेरास्ववियूले रारा क्याम्पस मुगु र विद्यापुर जनता वहुमुखी क्याम्पसको सभापति भएको छ।
सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस क्रान्तिकारीले पाएका कारण त्रिवि अन्तर्गत मध्यपश्चिमको सबैभन्दा ठूलो शिक्षा क्याम्पस अहिले नै आफूहरुले पाउने सहमति भएको अनेरास्ववियुका महासचिव नरेश रोकायाले बताए ।
यसैबीच केन्द्रमा भएको सहमतिविपरीत क्रान्तिकारीले बागेश्वरी बहुमुखी क्याम्पस र बबइमा उम्मेदवारी दिएको छ भने अनेरास्ववियुले पनि केन्द्रीय क्याम्पस सुर्खेतमा सभापतिमा उम्मेदवारी दिएको छ ।
क्रान्तिकारीले सहमतिबमोजिम उम्मेदवारी फिर्ता गराए आफूहरू पनि फिर्ता गराउन तयार रहेको महासचिव रोकायले बताए।
त्यस्तै भेरी ज्ञानोदय क्याम्पस जाजरकोटमा केन्द्रमा भएको सहमतिविपरित क्रान्तिकारीले नेविसंघसँग मिलेर उम्मेदवारी दिएको छ ।
