पत्रकारको आन्दोलनमा भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण

काठमाडौं। कान्तिपुर मिडिया ग्रुपले त्यहाँ कार्यरत पत्रकारलाई गैरकानुनी रुपमा गरेको निष्कासन तथा सरुवाविरुद्ध गरिएको आन्दोलनको कार्यक्रममा भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आन्दोलन अन्तर्गत आज दिउँसो धर्ना सुरु भए लगत्तै कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट आएका एक व्यक्तिले आन्दोलनकारीमाथि ढुंगा प्रहार गरी आक्रमण गरेका थिए ।

आक्रमणमा कान्तिपुरबाट अन्यायमा परेका पत्रकार तथा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य टिकाराम प्रधान घाइते भएका छन् ।

महासंघका महासचिव रोसन पुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘शान्तिपूर्ण प्रदर्शनमा रहेका कान्तिपुर प्रभावित पत्रकारहरूमाथि भएको घटनाको जिम्मेवारी कान्तिपुर व्यवस्थापन भएको महासंघको ठहर छ ।’

यो घटनामा संलग्न आक्रमणकारीलाई तत्काल पक्राउ गरेर कानुनी कारबाहीमा ल्याउन महासंघले सरकार र स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।

महासंघले घाइते पत्रकार प्रधानको स्वास्थ्यलाभको कामना गर्दै श्रम आन्दोलनको पक्षमा रहेका विभिन्न संघसंस्थाको गम्भीर ध्यानाकर्षणसमेत गराएको छ ।