डेढ वर्षसम्म पनि किन छापिँदैन स्मार्ट लाइन्सेन्स
ललितपुर। अनलाइन सिस्टम लागू भएसंगै नयाँ सवारी चालक अनुमतिपत्रको आवेदन,राजश्व भूक्तानी,लाइसेन्स नविकरण र बर्ग थप अनलाइनबाटै हुने गरेको छ। सवारी चालक अनुमति पत्रका लागि लिखित परीक्षा, ट्रायल परीक्षा र बायोमेट्रिक गर्न तीन पटक मात्र यातायात व्यवस्था कार्यालय जानुपर्छ।तर, ट्रायल परीक्षा पास भएपछि पाइने स्मार्ट लाइसेन्स भने सदावहार समस्या भएको छ।
सवारी चालक अनुमतिपत्र लिने र नवीकरण गर्नेहरूको अत्याधिक भिड हुने ठाउँमध्येको एक हो,यातायात व्यवस्था कार्यालय, एकान्तकुना। राजधानी र वरपरका जिल्लाका लागि पायक पर्ने भएकाले पनि एकान्तकुनामा सेवाग्राहीको चाप बढी हुन्छ।
सामान्य सोधपुछदेखि नयाँ आवेदनको फारम बुझाउने, बैंकको रसिद बुझाउने, लिखित जाँच दिने र अन्तिममा ट्रायल दिने ठाउँ पनि भएकाले बिहानैदेखि लामो लाम देख्न सकिन्छ। तर, पछिल्लो समय भने प्रविधिको विकास, प्रयोग र व्यवस्थापनका कारण सेवाग्राहीको भिड केही कम हुँदै गएको छ। सेवाग्राहीहरूले पनि पहिलेको भन्दा सहज भएको महशुस गर्ने गरेका छन्।
यातायात व्यवस्था कार्यालयमा लाइनको झन्झट कम भएपनि यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सको प्रिन्टिङलाई वेवास्ता गर्दा सेवाग्राहीहरू कार्यालय धाउँदै खाली हात फर्कनु पर्ने अवस्था छ। ट्रायल पास भएको छ महिनामा आउनु पर्ने कार्ड डेढ वर्षसम्म पनि नआएको कार्यालयमा आएका सेवाग्राहीहरू दुखेसो छ।
नयाँसँगै लाइसेन्स नविकरणका लागि दिएकाहरूको पनि उही समस्या रहेको छ। नागरिक एपमा लाइसेन्सको प्रतिलिपि भएपनि सवारी चेक जाँचका क्रममा ट्राफिक प्रहरीले मान्यता नदिने गरेको पनि उनीहरूले गुनासो गरेका छन्।
यता, यातायात व्यवस्था कार्यालय एकान्तकुना पनि सेवाग्राहीहरूले समयमा स्मार्ट लाइसेन्स नपाउने स्वीकार गर्छ। हाल २०२२ जुलाई सम्मको मात्रै स्मार्ट लाइसेन्स प्रिन्ट भएका छन्।
त्यस्तै, २०२२ अगष्टदेखि हालसम्मको स्मार्ट लाइसेन्स प्रिन्ट हुन सकेका छैनन्। स्मार्ट लाइसेन्सका लागि कार्ड उपलब्ध नभएकाले अहिले प्रिन्टको काम भने रोकिएको छ।
जनावरी २२, २०२४ बाट मात्रै लाइसेन्स प्रिन्टिङको काम सुचारु हुनेछ। सरकारले माग र छपाइको सन्तुलन मिलाउन नसक्दा हजारौं सेवाग्राही स्मार्ट लाइसेन्सको प्रतिक्षामा छन्।
आधुनिक प्रविधि भन्दै शुरु गरिएको स्मार्ट लाइसेन्सलाई सरकारले लज्जाको विषय बनाएको छ। कहिले आफूसँग स्मार्ट प्रविधि प्रयोग गर्ने जनशक्ति नभएको त कहिले उपकारण विग्रिएको तथा कार्ड सक्किएको भन्दै विभाग पन्छिदै आएको छ।
अर्कोतर्फ, प्रदेश सरकारहरूले लाइसेन्स कार्यालयहरू थप्दा छपाइमा चाप बढेको छ। यसका कारण नागरिकले खेप्नुपरेको हैरानी मध्यनजर गर्दै सरकारी निकाय गम्भिर बन्न जरुरी छ।
