महानगर र सडक विभागको भिडन्त,स्थानीयले किन गरे बालेनको विरोध
काठमाडौं। काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि सडक काटेपछि सडक विभाग र महानगरबीच केही दिनयता टसल जारी छ।
महानगरले सडक विभागबाट अनुमति नै नलिई सडक काटेको भन्दै विभागले हस्तक्षेप गरेपछि महागर र केन्द्र सरकार अन्तर्गतको सडक विभाग आमने–सामने भएका हुन्।
सडक विभाग अन्तर्गतको सडक डिभिजन काठमाडौँले सोमवार विहानै न्यूरोडमा महानगरले काटेको सडक कालोपत्रे गरेपछि स्थिति तनावपूर्ण बन्यो।
जेठ १२ गते चक्रपथ विस्तारको काम ढिलासुस्ती भएको भन्दै काठमाडौँ महागनरले मेयर बालेन शाहको निर्देशनमा सडक डिभिजन कार्यालय र सडक विभागको गेटमा एक ट्रक धुलो र फोहोर फालेको थियो। सडक विभागमाथि आक्रोश ब्यक्त गर्दै बालेनले फेसबुकमा स्टाटस समेत लेखेका थिए।
बालेनको स्टाटसको प्रत्यूत्तरमा सडक डिभिजन कार्यालयले विज्ञप्ति जारी गर्दै न्यूरोडमा महानगरबाट गर्न खोजिएको निर्माणका कारण विवाद उत्पन्न भएको प्रष्टीकरण दिएको थियो।
त्यस्तै सडक डिभिजन कार्यालयले जुद्ध शालिक–इन्द्रचोक सडक खण्ड दुई दिनभित्र यथास्थितिमा पूनस्थापना गर्न महानगरलाई पत्राचार गरेको थियो।
भत्काएको सडक नबनाए सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी पनि डिभिजन कार्यालयले दिएको थियो। तर महानगरलाई पटकपटक ताकेता गर्दा पनि नमानेपछि सोमवार विहानै सडक डिभिजनको टोलीले आफै कालोपत्रे गरेको थियो।
सडक कालोपत्रे गर्न थालेपछि महानगर प्रहरी पुगेर अवरोध गरेका थिए। केहीबेर दुवै पक्षबीच विवाद समेत भएको थियो। तनावको स्थिति सिर्जना भएपछि नेपाल प्रहरी पनि परिचालन गरिएको थियो। तर विवादकै बीच महानगरले काटेको सबै सडक पीच गरिएको छ।
महानगर प्रहरीले अवरोध गरेपछि न्यूरोडका बासिन्दाले महानगर प्रहरीविरूद्ध नाराबाजी पनि गरेका थिए। महानगरले इन्द्रचोकको बाटो भत्काएको र सडक डिभिजनले कालोपत्र गर्न लागेपछि तनावको स्थिति सिर्जना भएको स्थानीयको भनाइ छ। महानगर नेतृत्वले घमण्ड देखाउँदै सडक काट्ने काम गरेको स्थानीयको आरोप छ।
महानगरका प्रहरीहरू न्यूरोडबाट फर्केपछि सडक डिभिजनले कालोपत्रका कामलाई निरन्तरता दिएको थियो ।
बालेनको योजना
न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने मेयर बालेनको योजना रहेको छ। सोही अनुसार महानगरपालिकाले न्यूरोड क्षेत्रका फुटपाथ विस्तार गर्न काम अगाडि बढाएको हो। सर्वसाधारणका लागि आवतजावतमा सहज होस् भनेर न्यूरोड क्षेत्रको फुटपाथ विस्तार र स्तरोन्नतिको काम अगाडि बढाएको महानगरको दावी छ।
न्यूरोड क्षेत्रमा अहिले रहेको ११ मिटर लम्बाइको सडकमा दायाँबायाँ २.४ र २.६ मिटरको फुटपाथ छ। तर यो फुटपाथ साढे एक मिटर बढाएर स्तरोन्नति गर्न महानगर चाहन्छ।
महानगरले तयार पारेको डिपिआर अनुसार ११ मिटर लम्बाइ रहेको कालोपत्रे सडकलाई ७ मीटरको बनाइनेछ। भने दुवैतिर डेढ मिटर थप गरी ३.९ मिटरको फुटपाथ निर्माण गर्ने योजना महानगरको छ।
महानगरले पहिलो चरणमा न्यूरोड गेट हुँदै धर्मपथको बाटोसम्म फुटपाथ विस्तार गर्ने र पछि न्यूरोडबाट प्यूखा, सुन्धारा र विशालबजार जाने बाटोमा समेत फुटपाथ विस्तार गर्ने योजना बनाएको छ।
