तीनवटा संसदीय समितिको बैठक आज बस्दै
काठमाडौं। संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ। विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुशासन प्रवर्द्धन एवं भ्रष्टाचार निवारण सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रबाट भएका कामका बारेमा छलफल हुनेछ। बैठक बिहान ११ बजे बस्नेछ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीतिको आवश्यकता, महत्व, कार्यान्वयनको अवस्थालगायत विषयमा छलफल गर्ने कार्यसूची छ।
मध्याह्न साढे १२ बजे बस्ने बैठकमा छलफल र जवाफका लागि नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्षलाई बोलाइएको छ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आजै बस्दै छ। बैठकमा लुम्बिनी विकास कोषबाट भएका कामकारबाही, प्रमुख सवाल, समस्या र भावी कार्ययोजनाबारे छलफल हुनेछ।
बैठक बिहान ११ बजे बस्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
