नाउपाबाट रञ्जिता पुन: मन्त्री बन्दै: रास्वपा र नेकपा एसका मन्त्री हट्न मानेनन,आफ्नै मन्त्री फिर्ता बोलाउने तयारीमा प्रचण्ड

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने अन्तिम तयारीमा छ। पार्टीभित्रको विवाद उत्कर्षमा भएपनि यथास्थितिमै रहेको नाउपाबाट अध्यक्ष रञ्जिता श्रेष्ठ नै सरकारमा जाने तयार भएपछि सरकार विस्तारको योजनामा प्रधानमन्त्री प्रचण्डले छलफल तीव्र बनाएका छन्।

मिलिजुली सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डलमा हेरफेरको तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका कारण मन्त्री फिर्ता बोलाउने विषयमा असहज स्थिति बनेपछि प्रचण्डले आफ्नो पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेका छन्।

माओवादी केन्द्रभित्र सबै मन्त्री फिर्ता बोलाउने गरि छलफल चलिरहेको छ। तर,अर्थमन्त्री भने यथावत रहनेछन्। यस्तोमा एमालेबाट समेत केहि मन्त्री फिर्ता गर्ने तयार छ। साथै नाउपालाई सकारमा ल्याउने तयारी गरिएको छ।

नाउपा अध्यक्ष रञ्जिताले नै आफ्नो पार्टी पर्यटन मन्त्रालय लिएर सरकारमा जान लागेको खुलासा गरिसकेकी छन्। नाउपालाई पर्यटन मन्त्रालय र एक राज्य मन्त्री दिने सहमति जुटेको उनको दाबी छ। यस्तोमा नाउपाबाट उनी नै सरकारमा जाने तयारीमा रहेको बताइन्छ।

नाउपालाई किन ल्याइदैछ सरकारमा  

सुदूरपश्चिम प्रदेशमा निर्णायक रहेको नाउपाको समर्थन सत्ता गठबन्धनलाई अनिवार्य छ। यता, सुदूरपश्चिम सरकारको नेतृत्व गरिरहेको नेकपा एकीकृत समाजवादीले सरकार विस्तार गर्न नसक्दा नाउपाले असन्तुष्टि पोखिरहेको छ।

एमाले–माओवादी केन्द्रले मन्त्रीको नाम नदिएर नेकपा एसलाई सकसमा पारिरहेका बेला नाउपाको सेटलमेन्ट केन्द्र सरकारमा गर्ने तयारी गरिएको छ।

नेकपा एसलाई सुदूरपश्चिममा सघाउने र केन्द्रमा नाउपालाई सरकारमा ल्याएर सुदूरपश्चिमको घाटा पुर्ति गर्ने गरि नेताहरुले गृहकार्य अघि सारेका छन्। तर, नेकपा एसले मन्त्री फिर्ता बोलाउने छाँट देखाएको छैन्।

यस्तोमा गठबन्धनलाई बलियो पार्न एमाले र माओवादी केन्द्रले नै मन्त्री फिर्ता बोलाएर नाउपालाई सेटल गर्ने तयारी गरेका छन्।

मधेसबाट अर्को राजनीतिक प्रयोग

सत्ता गठबन्धनले सीके राउतको जनमत पार्टीलाई पनि गठबन्धनको हिस्सेदार बनाउने कोसिसलाई अन्तिम रुप दिने तयारी गरेका छन्।

मधेसका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने तयारी गरिरहेको स्थितिमा अब मधेस सरकारको नेतृत्व पहिलो चरणमा जनमतलाई दिने र त्यसपछि अन्य राजनीतिक माहोल मिलाउदै जाने तयारी गरेको देखिन्छ।

मधेसमा जनमतको सरकारलाई नेकपा एससहित माओवादी र एमालेले पनि समर्थन गर्ने र अन्य दललाई पनि गठबन्धनमा ल्याउने गरि तयारी चलिरहेकाले मधेसमा पनि सत्ता राजनीति चरम उत्कर्षमा पुग्ने देखिन्छ।