जसपा नेपाल विभाजन भएको छैन,मन्त्री बन्न र धन कमाउन केही सांसदहरू चोइटिएका हुन: अध्यक्ष यादव

फाइल तस्वीर

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूको पार्टी विभाजन नभएको जिकिर गरेका छन्। शनिवार जनकपुरमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले जनता समाजवादी पार्टी नेपाल विभाजन नभएको जिकिर गरेका हुन्।

उनले राज्यको स्रोत, साधन र शक्ति प्रयोग गरेर केही सांसदहरूलाई चोइट्याइए पनि पार्टी यथावत् रहेको बताए। उनले केही नेताहरूलाई राज्यले मोहरा बनाएर चोइटाउनुलाई विभाजन भन्न नमिल्ने तर्क गरे।

उनले कुनै राजनीतिक तथा सैद्धान्तिक मतभेद नभएको भन्दै मन्त्री बन्न र धन कमाउन नेताहरू चोइटिएका बताए। अध्यक्ष यादवले निर्वाचन आयोगलाई समेत घोक्र्याएर जनता समाजवादी पार्टी एकै दिनमा दर्ता गरिएको बताए।

उनले भने, ‘स्रोत, साधनको दुरुपयोग गरेर,निर्वाचन आयोगलाई समेत घोक्रेठ्याक लगाएर राती निवेदन दिने अनि बिहानै दर्ता गर्ने यस्तो नेपालको इतिहासमा कहिल्यै भएको थिएन।

घोक्र्याएर पार्टी फुटाइयो भनेर जुन प्रचार गरियो त्यो अत्यन्त निन्दनिय र गलत कार्य हो।अध्यक्ष यादवले आगामी दिनमा सङ्घीयता तथा समावेशिता पक्षधरहरूसँग सहकार्य र गठबन्धन हुनसक्ने बताए।