अदालतलाई प्रभावित गर्ने र कांग्रेसलाई घेराबन्दी गर्ने प्रपञ्च भइरहेको छ: महामन्त्री थापा

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अदालत र संवैधानिक निकायलाई प्रभावित पार्ने र आफ्ना पार्टीका नेता कार्यकर्तामाथि घेराबन्दी गर्ने कोशिस भइरहेको बताएका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा उनले अदालत र संवैधानिक निकायलाई तर्साउने, फकाउने र लोभ्याउने परिपाटी पनि देखिएको बताए ।

‘अदालतलाई प्रभावित गर्ने,अड्डालाई प्रभावित गर्ने,संवैधानिक निकायलाई प्रभावित गर्ने,ती सबैलाई तर्साउने,फकाउने लोभ्याउने जुन परिपाटी हामी पछिल्लो समय देख्दै गइरहेका छौं।

कांग्रेसका साथीहरुलाई एक पछि अर्को, कुनै न कुनै ढंगबाट घेराबन्दी गर्ने प्रपञ्च देखिरहेका छौं’ उनले भने,निर्दोष साथीहरुलाई कहीँ कतै अप्ठेरो पार्ने कोशिस हुन्छ भने त्यो बेला सिंगो पार्टी एक ठाउँमा आएर पार्टीले बोल्नुपर्छ भन्ने कुरामा हामी प्रष्ट छौं।

तर कसैले गल्ती गरेको छ भने कांग्रेस भएको कारणले छुट र उन्मुक्ति पाउन हुन्न भन्नेमा आफूहरु प्रष्ट रहेको थापाले बताए।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफूमाथि लागेको आरोपमाथि संसदमा जवाफ दिने क्रममा कांग्रेसका नेताहरु जोडिएका केही प्रकरणको नाम लिएर त्यसमा पनि छानबिन गर्नुपर्ने बताएका थिए । महामन्त्री थापाले ती सबै विषयको खाता पल्टाउन आग्रह गरे।

‘सरकारमा बस्ने साथीहरुसँग सबै अनुसन्धान गर्ने निकाय छ, अख्तियारदेखि, प्रहरीदेखि प्रशासनदेखि सारा सबै कुरा सञ्चालन गरेर बस्नुभएको साथीहरुले,हामी सिंगो नेपाली कांग्रेसले निर्णय गरेर भनेका छौं,एउटा एउटा विषयको खाता पल्टाउनुस् एउटा एउटा विषयको अनुसन्धान गर्नुस्,हामीहरुमध्ये कोही एक जना व्यक्ति पनि कुनै पनि कुरामा संलग्न भएको कहीँ कतै पनि कसैको अवस्था रहन्छ भने त्यो अवस्थामा त्यो भारी पार्टीले बोक्दैन त्यो व्यक्तिले बोक्नुपर्छ,उनले भने।

कोशी व्यक्ति शक्तिशाली वा नयाँ भयो भन्दैमा कानुनको उल्लंघन गर्ने छुट पाउन नहुने भन्दै थापाले कांग्रेस,एमाले वा माओवादी भएका आधारमा पनि छुट पाउन नहुने धारणा राखे।