निगमका पाँच पाइलट निलम्बित,नियमित उडान प्रभावित

फाइल तस्बिर

काठमाडौं। नेपाल वायुसेवा निगमका पाँच जना पाइलट एकै पटक निलम्बनमा परेसँगै नयाँ पाइलट नियुक्तिको प्रक्रिया सुरु भएको छ। नेपाल एयरलाइन्सको उडान प्रभावित भएपछि निगमले १० जना पाइलट करारमा नियुक्त गर्न लागेको हो।

वायुसेवा निगमले खरिद गरेका २ वटा वाइड बडी जहाजमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा परेसँगै ३ जना पाइलट निलम्बनमा छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाजको ककपिटमा बसेर फोटो भिडियो खिच्ने २ जना निलम्बनमा परेका थिए। निगमका एक पाइलटका अनुसार निलम्बनका कारण उडान कटौती गर्नुपर्ने अवस्था छ।

एउटा पाइलटले दैनिक बढीमा १० घण्टा र महिनामा १०० घण्टा उडान गर्न पाउने प्रावधान छ । लगातार १० दिन १० घण्टा उडाए २० दिन उडान गर्न पाउँदैनन्। निगमसँग २ वटा वाइड बडी र २ वटा न्यारोबडी जहाज छन्। अहिले ४ वटै जहाजले विभिन्न गन्तव्यमा उडान गरिरहेका छन्।

गत हप्ता मात्रै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका दुई पाइलट विजय लामा र भावना पन्तलाई ‘एक्टिभ ड्युटी’बाट हटाएको थियो। उडान सुरक्षा प्रावधान उल्लङ्घन गरेको भन्दै प्राधिकरणले उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि ‘ग्राउन्डेड’ गराएको हो।

पन्त न्यारोबडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन् भने लामा वाइड बडी जहाज ‘एयरबस ३३०’ जहाज उडाउने क्याप्टेन हुन्।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका ३ पाइलट, ३ निर्देशक र एक उपनिर्देशकसहित ७ उच्च तहका कर्मचारीलाई भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ।

जसमा निगमका नायब महाप्रबन्धक जनकराज कालाखेती, वरिष्ठ क्याप्टेन सुवास रिजाल,वरिष्ठ क्याप्टेन रविन्द्र कुमार शेरचन, क्याप्टेन श्रवण रिजाल, हाल निर्देशक रहेका उमेश पौडेल,निर्देशक उपेन्द्र पौडेल र उपनिर्देशक बृहतमान तुलाधर छन्।

निगमले अन्य कर्मचारीको विकल्प निगमभित्रबाट तत्काल दिन सके पनि पाइलटको व्यवस्था गर्न सकेको छैन।

जहाज उडाउने र विभागको नेतृत्व गर्ने कर्मचारी वाइड बडी जहाज खरिद प्रकरणमा निलम्बित छन्। तीन पाइलटले मुद्दाको किनारा नलागेसम्म जहाज उडाउन पाउँदैनन्।

पाइलट अभावले उडान प्रभावित हुनथालेपछि नेपाल वायुसेवा निगमले १ वर्षको लागि १० जना पाइलट करारमा नियुक्त गर्न लागेको निगमका प्रवक्ता देवेन्द्र पुनले बताए। उनका अनुसार यसका लागि जेठ १८ गते १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ।