राष्ट्रिय परिचयपत्रमा हुने क्युआरमार्फत लाइसेन्स चेकजाँच हुने

काठमाडौं। आगामी साउन महिनादेखि राष्ट्रिय परिचयपत्रमा हुने क्यूआर कोडमार्फत सवारी लाइसेन्स चेकजाँच हुने भएको छ। लाइसेन्स छपाइमा ढिला भइरहेका कारण सरकारले आगामी आर्थिक वर्षदेखि नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेहरूलाई परिचयपत्रमै लाइसेन्सको विवरण राख्न लागेको हो।

त्यसअनुसार आगामी साउन महिनादेखि ट्राफिक प्रहरीले परिचयपत्रमा हुने क्युआर कोडमार्फत लाइसेन्स चेकजाँच गर्नेछन्।गृहअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यससम्बन्धी तयारी पूरा गरिसकेको र यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको विभागका निर्देशक मुकेश केसरीले बताए।

मन्त्रिपरिषद्बाट निर्णय भएपछि लाइसेन्स छाप्न आवश्यक नहुने उनले बताए। परिचयपत्रले नै लाइसेन्सको काम गर्ने र ट्राफिक प्रहरीले परिचयपत्रमा हुने क्युआर कोडमार्फत लाइसेन्स चेकजाँच गर्ने उनको भनाई छ।

निर्देशक केसरीका अनुसार विभागले हाल दैनिक १८ हजार राष्ट्रिय परिचयपत्र छाप्दै आएको छ। तर, यसको उपयोगिता नभएकाले सर्वसाधारण लिन गएका छैनन् । ३० लाखभन्दा धेरै परिचयपत्र सरकारी कार्यालयमा थन्किएका छन्।

अर्कोतर्फ १५ लाखभन्दा धेरै नागरिक लाइसेन्स छपाइको प्रतीक्षामा छन्। परिचयपत्रले नै लाइसेन्सको काम गर्ने भएपछि यो समस्या समाधान हुने आधारमा दुवै निकायले छलफल गरेर यससम्बन्धी प्रस्ताव अघि बढाएका हन्।

विभागको प्रस्तावअनुसार लाइसेन्सको फारम भर्न तथा नवीकरणका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिनेछ र यसो गर्दा विभागले बायोमेट्रिकलगायतको दोहोरो विवरण पनि लिनुपर्दैन। यसले सर्वसाधारणलाई पनि सहज हुने र यातायात कार्यालयको कार्यबोझसमेत घट्ने अपेक्षा गरिएको छ ।