पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु

फाइल तस्वीर

गुल्मी। गुल्मीको मालिका गाउँपालिका६ अर्जेमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ। शुक्रबार रातिको अविरल बर्षाको कारण आएको पहिरोमा परेर अर्जे ठाँटीपोखरीका यम बहादुर विक भन्ने भेष बहादुर कामीको घर पुरिएको छ।

पहिरोमा पुरिएका घरमुली ५५ बर्षका भेष बहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी ८ वर्षीया सपना र ८ महिनाकी विपना विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिए।

पहिरोका कारण रातिबाट बेपत्ता भएका पाँच जनाको खोजीकार्यको लागि बिहानैदेखि नेपाल प्रहरीसहितका सुरक्षा निकाय र स्थानीय परिचालन भएका थिए।