२०औँ पटक शरदसिंह सिंहदरबार प्रवेश
काठमाडौं । लोकतान्त्रिक समाजवादीका नेता शरदसिंह भण्डारी २० औँ पटक मन्त्री बनेका छन् । उनी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा फेरि मन्त्री भएसँगै २०औँ पटक मन्त्री बन्न सफल भएका हुन्।
उनी विगत ३७ वर्षयता फरक–फरक व्यवस्था र दलको नेतृत्वमा गठन भएका मन्त्रिपरिषद्हरुमा मन्त्री बन्दै आएका छन् । पञ्चायतदेखि गणतन्त्रसम्म पटक पटक मन्त्री बन्न सफल उनी पहिलो पटक २०४३ असारमा सहायक मन्त्री बनेका थिए। त्यसयता पटक पटक मन्त्री हुँदै सोमबारसम्म आइपुग्दा उनी २० औँ पटक मन्त्रीको रूपमा सिंहदरबारमा प्रवेश गरेका हुन्।
पञ्चायत तथा स्थानीय विकास सहायक राज्यमन्त्रीबाट सुरु भएको उनको सत्ता २० औँ पटकसम्म आइपुग्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा पुगेको छ। २०७९ चैतमा प्रचण्ड नेतृत्वको सरकारमा पनि उनी यही मन्त्रालयमा थिए।
उनले यसअघि वाणिज्य राज्यमन्त्री, विनाविभागीय राज्यमन्त्री, युवा खेलकुद तथा संस्कृति, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, रक्षा, उर्जा, जलस्रोत तथा सिचाइँमन्त्रालय सम्हालेका थिए।
लोसपा नेता भण्डारी एमालेका अध्यक्ष ओली नेतृत्वको यसअघिको सरकारमा ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री थिए । त्यसअघि २०६८ भदौमा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा रक्षामन्त्री थिए ।
भण्डारी पञ्चायत, प्रजातन्त्र र गणतन्त्र गरी तीनै व्यवस्थामा सरकारमा सहभागी भएका नेता हुन्। उनी पञ्चायती व्यवस्था अन्तर्गत २०४३ असार २ मा मरिचमान सिंह श्रेष्ठ नेतृत्वको सरकारमा पहिलो पटक पञ्चायत तथा स्थानीय विकास सहायकमन्त्री भएका थिए।
सिंह नेतृत्वको तत्कालीन सरकार पुनर्गठन हुँदा २०४५ कात्तिकमा उनको मन्त्रालय फेरिएको थियो। पुनर्गठित मन्त्रिपरिषद्मा भण्डारी वाणिज्य राज्यमन्त्री थिए।
प्रधानमन्त्री सिंहले २०४६ भदौ १४ र चैत १९ मा पनि मन्त्रिपरिषद् पुनर्गठन गर्दा पनि भण्डारीले वाणिज्य राज्यमन्त्रीको जिम्मा पाए।
२०४६ सालको जनआन्दोलनपछि उनी २०५२ मा फेरि मन्त्री बने। २०५२ भदौ २७ मा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा बिनाविभागीय राज्यमन्त्री भए ।
देउवा नेतृत्वको उक्त सरकारमा २०५२ मंसिर २७ मा बिनाविभागीय राज्यमन्त्री बनेका उनी २०५३ जेठ ४, जेठ २८ को पुनर्गठनमा पनि यथावत रहे । तर, २०५३ पुस २४ मा भएको पुनर्गठनमा बिनाविभागीय मन्त्रीमा उनको बढुवा भयो ।
उनी २०५४ असोज २१ मा राप्रपा नेता सूर्यबहादुर थापाको नेतृत्वमा सरकार गठन हुँदा युवा खेलकुद तथा संस्कृति मन्त्री भए । प्रधानमन्त्री थापाले २०५४ कात्तिक २१ र मंसिर १८ मा मन्त्रिपरिषद् पुनर्गठन गर्दा उनले खेलकुदमन्त्रीका रुपमा निरन्तरता पाएका थिए ।
कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा २०५६ जेठ १७ मा सरकार गठन भएको थियो । उक्त सरकारमा पनि भण्डारीले खेलकुद मन्त्रीका रुपमा निरन्तरता पाएका थिए ।
२०५६ असार १६ मा भएको मन्त्रिमण्डल विस्तारमा खेलकुद मन्त्रालय नै पाएका भण्डारीले त्यसै साल फागुन २७ मा भएको पुनर्गठनमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका थिए ।
२०५८ साउन ११ मा देउवा फेरि प्रधानमन्त्री हुँदा भण्डारीले फेरि स्वास्थ्यमन्त्री बन्ने अवसर पाएका थिए । माधवकुमार नेपाल नेतृत्वमा २०६६ जेठमा गठित सरकारमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका भण्डारी २०६८ भदौमा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा रक्षामन्त्री भए ।
२०७८ असार २९ मा कांग्रेस सभापति देउवा पाँचौँपल्ट प्रधानमन्त्री बन्नुअघि एमाले अध्यक्ष ओली नेतृत्वको तत्कालीन सरकारमा भण्डारी १३ दिनका लागि ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री थिए।
