भरतपुर १९ मा फरक चुनावि प्रचार शैली

भरतपुर महानगरपालिका – १९ मा पुनःनिर्वाचन नगर्न र नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै यहाँका राजनीतिक दल फरकरफरक शैलीमा निर्वाचनको प्रचार प्रसारमा जुटेका छन्।

निर्वाचन आयोगले मतपत्र च्यातिएकाले पुनः मतदान गर्ने निर्णय गरेसँगै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले तत्कालका लागि पुनः निर्वाचन प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो।

आदेश जारी भएपनि नेपाली काँग्रेस र माओवादी केन्द्र पुनः मतदान हुने भन्दै घरदैलो अभियान र चुनावी सभामा जुटेका छन्। नेकपा एमालेले भने मतपत्र च्यात्ने विरुद्धमा जनचेतना अभियान भन्दै घरदैलो गरिरहेको छ।

सो वडाका चार स्थानमा काँग्रेस र माओवादीले संयुक्त सम्पर्क कार्यालय स्थापना गरी प्रचारप्रसारमा जुटेका छन्। सो वडाका माओवादीका वडाध्यक्ष र सदस्य पदका उम्मेदवारले नेपाली काँग्रेसका उम्मेदवारको पक्षमा मत माग्न थालेका छन्।

ती दुई पार्टीले प्रमुख पदमा माओवादी केन्द्रकी उम्मेदवार दाहाल र अन्य पदमा काँग्रेसका उम्मेदवारलाई सघाउने सहमति गरी निर्वाचनमा जुटेका हुन्। एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेलले पत्र बनाएर मतदाताको घररघरमै पुगेर धन्यवाद ज्ञापन गर्दै मतपत्र च्यात्नेका बारेमा मतदातालाई जानकारी गराउने काम भइरहेको बताए।

उनले भने, ‘हामी मतगणना हुन्छ भन्नेमानै छौ, मतदातालाई तपाईको मतपत्र च्यात्ने यो हो भनेर बुझाउने काम भइरहेको छ।’

‘आफूले दिएको मत कस्ले च्यात्यो’ त्यो जान्ने अधिकार जनतालाई भएकाले मतपत्र च्यात्ने विरुद्धको जनचेतनामूलक अभियान मात्रै गरिएको उनले बताए। एमाले कार्यकर्ताले मतपत्र माओवादीले च्यातेकाले फेरि चुनाव भएमा उनीहरुलाई मत दिन नहुने सन्देश मतदाताकहाँ पुर्याएको पाइएको छ ।

तिनै दल निर्वाचन भएमा आ–आफ्नो पक्षमा मतदान गर्न प्रचारमा जुटेका हुन्। गएको जेठ १४ गते राति मतगणनास्थलमा गणना हुँदै गर्दा ९० वटा मतपत्र उम्मेदवारका प्रतिनिधिले च्यातेसँगै मतगणना स्थगित भएको थियो। भरतपुर महानगरमा २९ वटा वडा छन्।

जसमध्ये वडा नं– १९ को मतगणना हँुदै गर्दा मतपत्र च्यातिएको हो । यो सहित वडा नं–२० को मात्र मतगणना गर्न बाँकी छ।

दुई वडाको मतगणना गर्न बाँकी रहँदा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार दाहाल भन्दा ७८४ मतले अगाडि रहेका थिए।

वडा नम्बर १९ मा एक हजार ८०० मत गन्दा यो मतान्तर घटेर ७३३ मा झरेको थियो।