कविता/ संयोग थिएन

कमल कुमार थापा, मुगु, हाल ः दुवर्इ

त्यो साँझ
हामी दुवै अर्धपरिचित
त्यो व्यस्त शहर
लाखौं मान्छेहरुको भिड
अनि एक तिमी एक म
हामी दुवै एक अर्कामा अन्जान
सामाजिक सञ्जालको
दुरुपयोग गरि अदृश्य रुपमा
वार्तालाप भएको मान्छे
भेट्न भन्दै सहमत भयौं

त्यहि भिडमा
त्यहि व्यस्त शहरमा
तिमी परबाट आयौ
म वर पर्खि रहेको थिएँ
तिमीलाई नै पर्खि रहेको
तिमी एक्लै आयौ लाखौं को भिडबाट
म एक्लै थिएँ लाखौंको भिडमा
तिमीले मलाई देखेको थिएनौ
मैले तिमीलाई देखेको थिईन
बोलाईको आधारमा
तिमीले मलाई चिन्यौ
मैले तिमीलाई िचने

 

बिना परिचय चिन्यौ
बिना परिचय चिने
खै कसरी चिन्यौ
खै कसरी चिने
त्यो भन्दा पहिला मलाई
चिनेकै मान्छे चिन्न गाह्रो पर्थ्यो
तिमीलाई के हुन्थ्यो खै
मलाई थाहा भएन

 

त्यो साँझ मेरा लागि
इतिहास हुनेछ
जब दृष्टि बिहिनले
आँखा पाउँछ नि त्यस्तै ।
मरुभूमिमा बटुवाले
पानी पाउँछ नि त्यस्तै ।
पलाउदै गरेका पालुवाहरुले
मनसुन पाउँछ नि त्यस्तै
त्यो साँझ
मलाई भएको थियो

 

तर थाहा छैन तिमीलाई
के भएको थियो
मलाई लाग्छ
तिमीलाई पनि भएको थियो
केही त भएको थियो
नत्र हेर्ने थिएनौ
तिमीबाट
म छुट्टीएर जाँदा म पर पुगुन्जेल
नत्र फोन गर्ने थियनौ
हामी छुट्टीएको एक घडी नबित्दै
नत्र सुनाउने थिएनौ
एक अन्जान मान्छे मलाई
सबका सब मनका बहहरु
खुल्ने थिएन तिम्रो मुस्कान
मलाई लठ्ठै बनाउने गरि
हेर्ने थिएनन् एकटक ती मृगरुपि
नयनहरु मलाई नै
हराउने थियनौ एक अर्कै दुनियाँमा
अनि झस्किने थियनौ मैले बोलाउँदा

 

फेस्बुकमा चिनेको
भरमा तिमीले भेट्न चाहनु
मैले पनि भेट्ने इच्छा जाहेर गर्नु ।
पहिलो भेटमा परिचय नहुनु
भोलि पल्ट भेट्ने सहमति हुनु
मलाई लाग्छ
संयोग थिएन

 

यो त तिम्रो मेरो
जिन्दगीको सुरुवात थियो
एक यस्तो पल थियो
जुन पल दुबै को निधारमा तय गरिएको थियो
यो पटक्कै
संयोग थिएन