बाढी विपद र नेपाल

 

 

राम गाेपाल खर्वुजा, उपमहानिर्देशक, जल तथा मौसम विज्ञान विभाग

हामी सवैलाई थाहै छ, नेपाल जलवायु परिवर्तनको प्रभावका दृष्टिकोणले विश्वमै चौंथो स्थानमा छ र बाढी विपद्का दृष्टिले विश्वमै तीसौं स्थानमा छ। अझै गम्भिर विषय त के छ भने जलवायु परिवर्तनको मुख्यत प्रभाव वर्षाको तौरतरिकामा परेको छ। छोटो समयमा धेरै वर्षा हुने घटनाहरुमा वृध्दि हुंदै गएको देखिएको छ जसले अतिवृष्टिका दरमा वृध्दि भएको देखिन्छ। यसले नेपाल आगामी वर्षहरुमा तीसौं स्थानबाट झनै अगाडी आउन सक्ने संकेत गरेको छ। त्यसकारण पनि जतिपनि बाढी जस्तो विपद्मा काम गर्ने हामी सरकारीकार्यालय, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, तथा विभिन्न राष्ट्रीय तथा अन्तराष्ट्रीय गैरसरकारी सङघ संस्थाहरु छौ, सवै थप एकिकृत भएर बाढी पूर्वतयारी र पूर्वसूचनाका क्षेत्रमा जुट्न जरूरी भैसकेको छ ।

बाढी जस्तो विपद संग जुध्न र त्यसबाट हुन सक्ने जन(धनको क्षती न्युनिकरण गर्न सबै क्षेत्रको समन्वयात्मक भुमिका को खांचो पर्दछ। यसै वास्तविकतालाई विचार गरेर जल तथा मौसम विज्ञान विभागले Lutheran World Relief संग सहकार्य गरी बाढी पूर्वानुमान ( पूर्वसूचनार बाढी विपद जोखिम न्युनिकरणको क्षेत्रमा कार्य गर्ने राष्ट्रिय स्तरका सवै संघ संस्थाहरुको सहभागितामा यस कार्यशाला गोष्ठी आयोजना गरी तत् संस्थाहरुले गरिरहेका कार्यहरुको एक आपसमा जानकारी र कसरी थप सुदृढ पूर्वसूचना प्रणालीको विकास विस्तार गर्न सकिन्छ र यस क्षेत्रमा नेपालमा भइरहेका सवै कार्यहरुको मुलप्रवाहीकरण कसरी गर्न सकिन्छ भन्ने मुल विषयमा प्रस्तुतिकरण, छलफल र एउटा निचोडमा समेत पुग्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो  ।

पछिल्लो दशक नेपालले बाढी पूर्वानुमान र पूर्वसूचना प्रणाली मार्फत विपद्को अवश्थामा जनधनको क्षति न्युनिकरण गर्न गरेको प्रयास विश्वमै अनुकरणीय वनेको छ।यसमा यहांहरु सवैको प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग छ नै। हालसम्म मुख्यत वर्षा र बाढी अबलोकन गरी पूर्वसूचना प्रबाह गर्न नेपालका महाकाली, कर्णाली, बबई, पश्चिम राप्ति, नारायणी, बागमती कोसी र कन्काई नदी जलाधारहरुमा स्वचालित जल तथा मौसमी उपकरणहरु जडान भइसकेका छन् । यद्यपी ती अपुग छन् र त्यसैले नै विभागले एउटा ठूलो परियोजना मार्फत स्वचालित गर्न बांकी केन्द्रहरुमा समेत सो प्रविधि आगामि आर्थिक वर्ष भित्रै संपन्न हुने गरी कार्य गरिरहेको छ ।

यस अलावा संयुक्त राष्ट्रसंघीय कार्यक्रम, इसिमोड र अन्य विभिन्न गैरसरकारी संस्थाहरु मुख्यत प्राक्टिकल एक्सन, मर्सि कर्पस लगायत संग पनि समन्वय सहकार्य भइराकेको छ । विभागले सुधृढ मौसमी पूर्वानुमान र सो मार्फत सही बाढी प्रकोपहरुको पूर्वानुमानकै लागि मौसमी राडार र रेडियोसोण्ड स्थापनाको कार्यलाई पनि आगामी वर्षभित्रै सकिने गरि अगाडी बढाएको छ । RIMES, Thailand संगको समन्वयमा कर्णाली, बबई र नारायणी नदीमा तीन दिनको बाढी भविष्यबाणी गर्ने कम्प्युटर मोडेल समेत बिकास गरेको छ। कोसी र पश्चिम राप्तिमा यस्तै मोडेल विकास गर्ने कार्य हाल अन्तिम चरणमा पुगेको छ। एकातर्फ स्वचालित जल तथा मौसमी उपकरणकाReal Time data को आधारमा तल्लो तटीय क्षेत्रका जनमानसमा सूचना पु-याउने कार्य भइराखेको छ भने अर्कोतर्फ कम्प्युटर मोडेल मार्फत एक दिन वा सो भन्दा बढीको समेत भविष्यबाणी उपलब्ध गराउन शुरू गरिएको छ।आगामी दिनहरुमा यस क्षेत्रमा कार्य गर्ने हामी सवै थप एकिकृत भएर अगाडी बढ्नु जरुरी देखिएको छ। प्रभावकारी समन्वयले भोलीका दिनमा हामी झनै प्रभावकारी ढङ्गले धनजनको क्षति न्युनिकरण गर्न सक्नेछौं ।