यसरी भयो ८८ किलो सुन तस्करी

काठमाडौं ः प्रहरीले सोमबार राजधानीको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गर्दा नेपाललाई ट्रान्जिट बनाई तस्करी गर्दै आएका चिनियाँ तस्कर सन्जालबारे नयाँ खुलासा भएको छ । पर्यटन व्यवसायको आवरणमा ठमेललाई स्टेसन बनाई ५० वर्षीय चिनियाँ नागरिक वान विई मिङले ११ वर्षदेखि तिब्बत, नेपाल र भारतमा तस्करी सन्जाल सञ्चालन गर्दै आएका हुन् । उनले केरुङ नाका हुँदै आइतबार ल्याएको ४३ करोड रुपैयाँबराबरको सुन महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो । मिङ आफ्नी पत्नी याङ वेन विङसहित घटनालगत्तै फरार छन् भने सुन लोड गरिएको गाडीका चालक मनोज अधिकारी पक्राउ परेका छन् ।

 

केन्द्रीय अनुसन्धान ब्युरोले १५ किलो सुनसहित चिनियाँ तस्करी सन्जालकै ७ जनालाई पक्राउ गरेको साता नबित्दै अहिलेसम्मकै सबैभन्दा धेरै परिमाणमा सुन बरामद भएको हो । मिङ साँझ ८:३० मा बा१७च ६४२७ नम्बरको टाटा जिप हाँक्दै क्षेत्रपाटी, धोबीचौर आइपुगे । त्यहाँ उनले नयाँ होटल सञ्चालनको तयारी गरिरहेका थिए । होटल परिसरभित्र जिप राखेर बाहिरिए । बाहिरिनेक्रममा निर्माणाधीन होटल रुँघ्ने एक नेपाली कर्मचारीलाई जिपको साँचो जिम्मा लगाए । त्यसपछि एकैचोटि राति साढे ११ बजे पत्नी विङका साथ ठमेल नरसिं चोकस्थित होटल काठमाडौं वान छिरे । चौथो तलामा रहेको आफ्नो शयनकक्षतिर उक्लनुअघि उनले एक कर्मचारीलाई आइतबार बिहान सबेरै ड्राइभर पठाएर क्षेत्रपाटीबाट आफ्नो गाडी ल्याउन अह्राए । उनले मलाई क्षेत्रपाटीको बाटो बिग्रेकाले गाडी त्यहीँ राखेको, भोलि बिहान जो ड्राइभर आउँछ, त्यसैलाई लिएर गई गाडी ल्याउन अह्राए, ती कर्मचारी (नाम गोप्य) ले भने । बिहान साढे २ बजे चालक मनोज अधिकारी काठमाडौं वान होटल आइपुगे । उनको सोमबार बिहान होटलबाट चिनियाँ पर्यटक बोकेर केरुङ जाने पालो थियो । उनी राति होटलले व्यवस्था गरेको अलि परको स्टाफ क्वार्टरमा सुतेका थिए । उनले होटलमा बसेका २ पर्यटकलाई केरुङ जाने टुरिस्ट कोचमा हाले । होटलमा बसेकाबाहेक अन्य दुई चिनियाँ पनि उक्त गाडीमा थिए । त्यतिबेलै होटल कर्मचारीले साहुको गाडी लिन जाऊँ भनेपछि गाडी त्यहीं राखेर क्षेत्रपाटीतिर लागे ।

 

क्षेत्रपाटीस्थित निर्माणाधीन होटलमा पुगेर ढोका ढकढक्याएपछि त्यहाँ सुतेका कर्मचारी उठे र साँचो दिए । पार्किङ पुगेर जिपको ढोका खोल्न लाग्दा पहिल्यै घेरा हालेर बसेको महाशाखाको टोलीले उनीहरू सबैसहित गाडीलाई नियन्त्रणमा लियो । महाशाखा टोलीले क्षेत्रपाटी र ठमेल होटलमा रहेका सबै कर्मचारी र टुरिस्ट कोचमा रहेका चिनियाँलाई टेकु ल्याएर केरकार गर्न थाल्यो । साथै, तत्काल होटल खानतलासी गर्न थाल्दा चिनियाँ दम्पती फरार भइसकेको थियो । टेकुस्थित महाशाखा परिसरमा ल्याएर जिपको तलासी लिँदा फल्स बटममा लुकाएको ८८ वटा किलो दरका सुनका बिस्कुट फेला परेका थिए । ठूलो परिमाणमा सुन आउँदै छ भन्ने सुराकी पाएको महाशाखाको टोली आइतबार साँझदेखि नै ठमेल, लैनचौर तथा क्षेत्रपाटी एरियामा परिचालित थियो । अपरेसनको कमान्ड प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले गरेका थिए भने फिल्डमा प्रहरी नायब उपरीक्षक प्रजित केसीको टोली खटिएको थियो ।
अन्नपूर्णलाई घटना विवरण दिने काठमाडौं वान होटलका कर्मचारीका अनुसार ५ दिनअघि उक्त जिप हाँकेर केरुङतिर लागेका मिङ आफैंले हाँकी काठमाडौं फर्केका हुन् । उनी हम्मेसी आफ्नो गाडी कसैलाई छुन दिँदैनथे ।

 

दुई दिनअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी जयबहादुर चन्द र अपराध महाशाखा प्रमुख एसएसपी दिवस लोहनीको मोबाइलमा एउटा सन्देश आयो । सन्देशमा केरुङबाट ठूलो परिमाणको सुन काठमाडौं आउँदै गरेको र गाडीको विषयमा समेत उल्लेख थियो । उक्त सुराकअनुसार एआईजी चन्दले महाराजगन्ज र लैनचौर वृत्तलाई परिचालन गरे । क्षेत्रपाटीमा सुनसहित गाडी पार्किङ गरिरहेको सूचना आएपछि आइतबार राति करिब १० बजे महानगरीय प्रहरी वृत्त लैनचोरबाट सादा पोसाकको टोली त्यहाँ पुग्यो । पार्किङ गरिरहेको गाडीमा कोही थिएन । तत्काल केही हस्तक्षेप गरेन । त्यहाँ सुन नै छ भन्ने यकिन पनि गर्न सकेन । गाडीका चालक वा जिम्मेवार कोही नआएसम्म कुरेरै बस्ने निर्णय गर्‍यो । महानगरीय अपराध महाशाखाको टोलीले पनि आफ्नै हिसाबले अप्रेसन सञ्चालन गरिरहेको थियो । जब राति ३ बजे चालक अधिकारी गाडीनेर आए, नजिक बसेको महाशाखाको टोलीले हस्तक्षेप गरिहाल्यो । अन्य युनिटबाट खटिएका प्रहरी जिल्ल परे । प्रहरी उपरीक्षक उप्रेतीले केही दिनदेखि लगातार गरेको फलो अपका कारण ठूलो परिमाणसहित सुन बरामद गर्न सफल भएको बताए ।

 

८८ केजी सुन बरामदबापत सुराकी र प्रतिवेदक प्रहरीले १०/१० लाख रुपैयाँ पाउने भएका छन् । अवैध सुनको हकमा सुराकी र प्रतिवेदक दुवैले बरामद परिमाणको १०/१० प्रतिशत र बढीमा १०/१० लाख रुपैयाँसम्म पाउने व्यवस्था छ । सुराकी राख्ने विषयमा अनेक आर्थिक चलखेललाई कारण देखाउँदै राजस्व प्रशासनले यस्तो सिलिङ तोकेको हो । त्यसअघि विभिन्न प्रतिशतमा कमिसन भाग लाग्ने व्यवस्था थियो । नेपाल प्रहरीले पछिल्लो तीन आर्थिक वर्षमा २ सय ८१ केजी सुन बरामद गरेको थियो ।

 

नेपालमा सुन तस्करले तीन घेराको सेटिङमा काम गर्दै आएको अनुसन्धान अधिकृत बताउँछन् । पहिलो तहका कारोबारी दुबई, हङकङ र चीन बसेर आफ्नो क्षेत्र कटाउने, दोस्रो तहका नेपालमा बसेर सहयोगीमार्फत भन्सार कटाउने र तेस्रो तहका कारोबारीचाहिँ नेपाल-भारत सीमामा बसेर राजधानीमा स्टोर भएको सुन गन्तव्यसम्म पुर्‍याउँदै आएका छन् । खासगरी सिन्धुपाल्चोकको तातोपानी नाका, रसुवाको केरुङ र झापाको काँकडभिट्टाबाट तस्करीको सुन काठमाडौंसम्म आउने गरेका छन् । तस्करीको सुनको मुख्य गन्तव्य भारत हो । भारतमा तस्करी गर्न असहज बनेपछि छिटपुट सुन काठमाडौंमै सुन व्यापारीलाई बिक्री हुने विभिन्न घटनाक्रमले देखाएको छ । सुन तस्करी अभियोगमा पक्राउ पर्नेमा नेपालीकै संख्या बढी छ । दोस्रो भारतीय र तेस्रोमा चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरी मुख्यालयका अनुसार तीन वर्षयता प्रहरीले सुन तस्करी अभियोगमा १ सय ७० जनालाई पक्राउ गरेको छ । त्यसमा भारतीय नागरिक ४० र चिनियाँ ९ छन् । पक्राउ व्यक्ति अधिकांश भरिया हुन् । चुनौतीपूर्ण अनुसन्धान महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी यस प्रकरणको अनुसन्धान केही दिनमै ठोस उपलब्धिमा पुग्ने बताउँछन् । प्रहरीले अभियुक्त चिनियाँ दम्पती भाग्नसक्ने सम्भाव्य सबै नाकामा कडा निगरानी राखिसकेको छ ।

 

चालक मात्र पक्राउ परेबाट अनुसन्धानलाई टुंगोमा पुर्‍याउनु प्रहरीका लागि ठूलो चुनौती देखिएको छ । हवाईमार्गबाट भाग्न सहज नभए पनि नेपाल र तिब्बतको पूरै सिमाना दुर्गम पहाडी भूभाग हुनु एवं त्यहाँ दुवैतर्फको सुरक्षा उपस्थिति कमजोर हुनु सेटब्याक भएको प्रहरी बताउँछ । प्रहरीले यस प्रकरणमा अभियुक्तमाथि संगठित अपराधको मुद्दा चलाउने भएको छ । चालक अधिकारीलाई सोमबार सात दिनको म्याद लिएर न्यायिक हिरासतमा पठाइएको छ ।

 

को हुन् तस्करी मिङ
सन् २००६ मा मिङ दम्पती सपरिवार नेपाल छिरेको हो । सांघाई निवासी मिङ दम्पतीका एक छोरा (हाल करिब २७ वर्ष) पनि छन् । उनीहरूले सुरुमा नरसिं चोकमै केलियन नामक रेस्टुरेन्ट चलाए । छोराचाहिँ राजधानीमै पढ्न थाले । उनी पाँच महिनाअघि मात्र चीन फर्किएका हुन् । मिङ रेस्टुरेन्ट चलाउँदादेखि नै महिनामै ३/४ पटकसम्म चीन ओहोरदोहोर गर्थे । उनले सिप्रदी ट्रेडिङको नाममा गाडीसमेत निकाले । यातायात व्यवस्था विभागबाट सवारी लाइसेन्स पनि लिए । मिङले भूकम्प जानु तीन महिनाअघि घर भाडामा लिएर होटल वान काठमाडौं सञ्चालनमा ल्याएको कर्मचारी बताउँछन् । होटल सञ्चालनको दैनन्दिन जिम्मेवारी पत्नी विङलाई छाडेका उनी आफूचाहिँ चीनबाट पर्यटक ओसारपसारको काम पनि गर्न थाले । त्यसका लागि ३ वटा टुरिस्ट कोच प्रयोगमा ल्याए । नरसिं चोकबाट दक्षिण जेपी स्कुल चोकतर्फ लाग्दा ठीक बीचैमा, दायाँतर्फको गल्ली पस्दा २० मिटरमा रहेको चार तले होटलमा ११ कोठा छन् । र, त्यहाँ एकै कोठामा ८ वटासम्म खाट राखेर युथ होस्टलको शैलीमा सेवा दिइँदै आएको छ । खासगरी सस्तो ९प्रतिरात ४ सय रुपैयाँ० मा काठमाडौं बस्न रुचाउने चिनियाँ पर्यटक त्यहाँ आउँछन् ।
होटलमा ४ जना नेपाली कर्मचारी छन् । पत्नी विङको कडा अनुशासनबीच काम गर्ने ती कर्मचारी आफूलाई साहुको यस्तो अवैध धन्दाबारे अनुमानै नभएको बताउँछन् । ‘स्वास्नीचाहिँ प्रायस् तरकारी, मासु र दूधको बजार भाउलाई लिएर कचकच गर्थी । इंग्लिसचाहिँ फरर्र बोल्थी’, एक कर्मचारीले भने, ‘मिङ कहिल्यै फुर्तीफार्ती नगर्ने खालका थिए । फुर्सदमा बिग्रेका बत्ती बनाएर बस्थे । यस्तो धन्दा पो रैछ ।’ मिङको होटलमा कमै बस्ने, राति–राति कता–कता हिँड्ने बानीले चाहिँ कर्मचारी छक्क पर्दा रहेछन् । उनले होटलको सीसीटीभी कसैलाई हेर्न नदिने उनको अर्को पक्ष थियो । जसलाई लिएर सोझा युवा कर्मचारीले कहिल्यै शंकाको नजरले हेरेनन् । मिङ दम्पती पछिल्लो समय क्षेत्रपाटीमा नयाँ होटल सञ्चालन गर्नतिर पनि व्यस्त थियो । फर्निसिङको काम चल्दै थियो । नेपाललाई ट्रान्जिट बनाएर सुन तस्करीको मुख्य र्‍याकेट चलाएका मिङले धन्दाबाट आर्जित रकम यहाँकै विभिन्न व्यवसायमा लगाएको हुन सक्ने प्रहरीको अनुमान छ । उनले दुई होटल आफ्नो स्वामित्वमा राखे पनि अन्य व्यवसायचाहिँ भिन्न विश्वासिला मानिसको स्वामित्वमा राखेको हुन सक्ने आकलन छ ।

 

यसैगरी, मिङले यातायात व्यवस्था विभागबाट सवारी लाइसेन्स लिँदा पनि कुनै कागजात पेस नगरेको खुलेको छ । महानगरीय प्रहरी महाशाखाका एक अधिकृतले विभागमा लाइसेन्सबारे बुझ्दा चिनियाँ दूतावासको मौखिक आग्रहमा मिङलाई लाइसेन्स उपलब्ध गराएको जवाफ आएको बताए ।