सरकारको विकल्पको खोजी सडकबाटै: तीन वाम पार्टीहरु‘

प्रकाशित मिति : २०७५ जेष्ठ ३१काठमाडौं, जेठ ३१ ।तीन वाम पार्टीहरुद्वारा काठमाडौंको शान्ति बाटिकामा बिहीवार संयुक्त रुपमा आयोजित विरोध प्रदर्शनको कार्यक्रममा वक्ताहरुले संयुक्त वाम आन्दोलन अबको एकमात्र विकल्प रहेको बताएका छन् । ओली सरकारको चार महिना सकिन नपाउँदै पेट्रोलियम पदार्थमा भएको पाँचपाँच पटक मूल्य वृद्धि, दैनिक उपभोग्य सामानमा मूल्य बृद्धि तथा देश र जनताका विरुद्धमा भइरहेका राष्ट्रघाती एवम् जनघाती सन्धिसम्झौताका विरुद्ध आयोजित विरोध कार्यक्रममा सो कुरा बताइएको हो ।

 

विरोध कार्यक्रमका प्रमुख अतिथि तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले अब जनताका जनजीविकाका समस्याहरुको उचित सम्बोधन भएन भने सडक सङ्घर्ष एक मात्र विकल्पका रुपमा बाँकी रहने चेतावनी दिएका छन् । उनका अनुसार यदि मूल्य घटाएर पुरानै स्थितिमा लगिएन भने अब ओली सरकारको विकल्प सडकबाट खोजी गरिने छ । उनले भने– ‘सरकारको विकल्पको कुरा गर्दा मुख मिठ्याएर बसेका पुष्पकमल दाहाल वा शेरबहादुर देउवा कसैले पनि आफ्नो पालो आइहाल्छ कि भनेर साइत जुराउनु पर्ने र नयाँ दौरासुरुवाल सिलाएर ठीक्क परिहाल्नु पर्ने कष्ट गर्नुपर्ने छैन । जनताले यसको विकल्प सडक आन्दोलनबाट दिने छन् ।’

 

सम्बोधनको क्रममा गजुरेलले स्पष्ट गरे– ‘समृद्ध नेपाल र सुखी नेपालीको नारा दिएर सत्तामा विराजमान हुन पुगेको ओलीको सरकारले चार महिनाको छोटो अबधिभित्रै जनताले थेगी नसक्ने महङ्गीको उपहार दिएको छ । ‘समाजवाद निर्माण’ को यात्रामा रहेको सरकार अझ त्यो पनि ‘वाम सरकार’ ले जनतालाई गुमराहमा पारेर स्वेच्छाचारी किसिमले गरेका यी सबै कुराहरु जनविरोधी चरित्रको सरकारले गर्ने खालका भएकाले यी कसैका लागि पनि सैह्य छैनन् ।’
यसो गर्दै जाने र मूल्यवृद्धि तथा जनविरोधी कदमहरु सच्याएर सरकार जनताको निगरानीमा अघि नबढे त्यसको विकल्प जनताले सडकबाटै दिने कुरा पनि गजुरेलले बताए ।

 

अर्का अतिथि वक्ता नेकपाका पीबीएम् उमा भुजेलले यो सरकार जनताको पक्षमा नरहेको उल्लेख गर्दै ‘बिषको विरुवा रोपेपछि बिष नै फल्ने हुनाले वर्तमान सरकारले जनतालाई बिषरुपी महङ्गी, तस्करी, कालोबजारी तथा भ्रटाचार तथा अनियमितता दिएको’ कुरामा जोड दिइन् । ओली सरकारको राष्ट्रवाद अब नाङ्गिइसकेको र जनसाधरणले पनि छर्लङ्गै देख्न सक्ने अवस्थामा उजागर भइसकेकाले यसका विरुद्ध सडक सङ्घर्ष एक मात्र विकल्प रहेको पनि बताइन् ।

 

अतिथि बक्ता नेकपाका उपाध्यक्ष लोकनारायण सुवेदीले भने– ‘कथित वामपन्थी सरकारले चार महिना नकाट्दै पाँचपाँच पटक मूल्य वृद्धि गर्नु, दैनिक उपभोगका कामानहरु किन्न नसक्ने हुनु, देखाउनका लागि बजार अनुगमन गरिनु, कालो बजारी र तस्करीलाई सत्तासीनहरुका आयआर्जनका रुपमा अघि बढाउनु र उल्टै जनतालाई ढाँटेर भ्रष्टाचारमा शुन्य सहनशीलताको कुरा गर्नु’ आम जनताका लागि सैह्य हुने कुराहरु होइनन् ।’ उनले जोड दिए– ‘यो सरकार न त वामपन्थीहरुको हो, न त राष्ट्रवादीहरुको नै, बरु यो मयुरको प्वाँख लगाएर सिंगारिएको काग हो । यो नक्कली राष्ट्रवादी र नक्कली वामपन्थी हो । यसले जनतालाई ढाँट्नका लागि कम्युनिस्ट नाम धारण गरेको हो ।

 

उपस्थित सहभागीहरुलाई सम्बोधन गर्दै अर्का नेता तथा नेकपाका केन्द्रीय सदस्य रत्न जोशीले ‘कम्युनिस्टको खोल ओढेको सरकारविरुद्ध एकीकृत ढङ्गले आन्दोलन लैजानुको विकल्प नरहेको’ बताउँदै ‘यो आन्दोलन जनसरोकारको आन्दोलनमा परिणत हुने’ विश्वास व्यक्त गरे ।
विरोध कार्यक्रमको सञ्चालन नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य शारदा महतले गरेकी थिइन् भने कार्यक्रमको अध्यक्षता मकर गुरुङले गरेका थिए ।