नेपाल–भारत जोड्ने तिग्रम पुलमा आवतजावत बन्द

 सांकेतिक तस्वीर 

दार्चुला, भदौ ३ । नेपाल–भारत सीमा नाका तिग्रमस्थित महाकाली नदीमाथिको झोलुंगे पुलमा आवतजावत बन्द गरिएको छ । वर्षाका कारण शनिबार राति खसेको पहिरोको कारण पुल जोखिममा रहेकाले आवतजावत बन्द गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता हिक्मत बोहराले जानकारी दिए ।

 

दार्चुलाको उत्तरी क्षेत्र व्याँस गाउँपालिका–५ धौलाकोटको तिग्रममा निर्माण गरिएको नेपाल भारत जोड्न झोलुंगे पुलको नेपाल तिर ठुलो पहिरो खस्दा उक्त पुल निकै जोखिममा रहेको प्रहरीले जनाएको छ ।

 

पुल जोखिममा परेकाले सम्भावित दुर्घटना हुन नदिन आइतबार बिहानदेखि आवतजावत् बन्द गरिएको प्रहरी निरीक्षक बोहराले जानकारी दिए । पहिरो हटाएर पुल जोगाउनका लागि सस्पेन्स ब्रीज डिभीजन कार्यालयसंग समन्वय भइरहेको छ ।

 

सस्पेन्स ब्रिज डिभिजन कार्यालयले केन्द्रबाट बजेट विनियोजन गर्दा सम्म ढिलाई हुने भएकोले जिल्ला स्तरबाटै सरोकारवाला कार्यालयहरुसंग समेत छलफल भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए ।

 

यसैबीच पुल नजिकै रहेको नेपाल प्रहरीको पोष्ट समेत पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । भने शनिबार रातिकै अविरल वर्षाका कारण इलाका प्रहरी कार्यालय हुतीको मैदान समेत भत्किएर भबन जोखिममा रहेको प्रहरीले जनाएको छ ।

 

 

दुहु र ब्यास क्षेत्रको मुख्य बजार भारतको धारचुलादेखि दार्चुला जिल्ला सदरमुकाम खलंगा आवतजावत गर्नको लागि समेत स्थानीयले ज्यानमारा तुइनको यात्रा गर्नु परेको स्थानीय दीपक खाती बताउँछन् । नेपाल सरकारले तुइन विस्थापनको नीति लिएको तीन वर्ष बित्नै लागेपनि महाकाली नदीमा पुल निमार्ण नहुँदा तुइनकै साहारामा नदी तर्नुपर्ने स्थानीयको वषौँदेखिको बाध्यता हट्न सकेको छैन ।

 

 

नेपाल–भारत जोड्ने उत्तरी क्षेत्रको एकमात्रै तिग्रम पुलमा आवत् जावत् बन्द गरिएपछि स्थानियहरुले जोखीमपुर्ण ज्यानमारा तुइनको यात्रा शुरु गरेका छन् । दुहु र ब्यास गाउँपालिकाका सयौ मानिसले दैनिक प्रयोग गर्दै आएको झोलुगे पुलमा आवतजावत बन्द हुँदा तुइनको प्रयोग बढेको स्थानीय विनोद कुवँरले बताए । उर्लदो महाकाली नदीको भेलसंगै जिल्लाको उत्तर पश्चिमी सीमा क्षेत्रमा दर्जनौ तुइनको प्रयोग गरेर स्थानियहरु नेपाल भारत आवातजावत गर्ने गरेका छन् ।