बन्दुकको टुप्पोले घोचेर अपराध स्विकार्न लगाए : दिलीपसिंह विष्ट

काठमाडाै भदाै २८। म सधैँ महेन्द्रनगर बजार जान्छु । तर, प्रहरीले मलाई पक्राउ गरेको बाटोबाट होइन, अर्को बाटोबाट । मलाई सादा पोसाकमा आएका तीन प्रहरीले पक्राउ गरे । मैले निर्मलालाई चिनेको पनि छैन । अहिलेसम्म अविवाहित छु, यौन चाहना भएको भए मैले विवाह गरिसक्थेँ । मलाई जुन दिन प्रहरीले पक्राउ ग(यो, त्यसैदिन दुईवटा कुर्सीको बीचमा च्यापेर अपराध सकार्न लगाए । मैले होइन भनेँ ।

 

मसँग त्यसदिन ३२ रूपैयाँ थियो । सिआइबीबाट आएको भन्ने प्रहरीले फकाउन थाले । २ सय रूपैयाँ पनि दिए । गाँजा, चरेसको व्यवस्था पनि गरिदिन्छु भने । ‘पेटभर खाना पाउँछस्, कति दिन माग्दै हिँड्छस्’ भनेर फकाए । तर, गर्दै नगरेको अपराध मैले कसरी सकार्ने र मेरोबारेमा सिंगो महेन्द्रनगर र मेरो गाउँमा गएर बुझ्दा हुन्छ । म त्यस्तो हराम गर्ने गरी बिग्रिसकेको छैन ।

 

म बागफाटामा बस्छु । त्यहाँ कसैलाई पनि सोध्नुहोस्, म नारीलाई कति सम्मान गर्छु मलाई काठमाडौं लगे । धेरै जाँच गरे । पाँचपटक त मेरो रगत लिए । पछि डाक्टरले सोधे, ‘धेरै कुरा नर्मल देखिएको छ, तिमीलाई अरू कुनै समस्या छ’ मैले भनेँ, ‘गाँजा वा चरेसको नसामा रहेका वेला म मान्छेहरूसँग कुरा गर्न डराउँछु । उनीहरूको प्रश्नको उत्तर दिन सक्दिनँ । त्यसवेला मलाई टाउको दुखेजस्तो हुन्छ । म एक्लै रमाउँछु, मानिसहरूको संगत गर्न नपरे हुन्थ्यो झैँ लाग्छ ।’

 

म महेन्द्रनगर बजारमा गएर मानिसहरूसँग पैसा माग्छु । एकजनासँग दश रुपैयाँभन्दा बढी कहिल्यै मागिनँ । कहिले सय त कहिले एक सय पचाससम्म कमाउँछु । त्यो पैसाले म थोरै रक्सी खान्छु । अनि एक चिलिम गाँजा खान्छु । मागेर पैसा नपाएको दिन गाँजाको चिलिम बनाउँछु, अर्को कसैले खान्छ र मलाई ५० रुपैयाँ दिन्छ ।नयाँ पत्रिकाबाट।