बस दुर्घटना हुँदा कैलालीमा दुई जनाको मृत्यु, चार घाइते

धनगढी, भदौ २९ । कैलालीको लम्कीचुहा नगरपालिका ३ बल्चौरमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। नेपालगञ्जबाट धनगढी आउँदै गरेको से१ख ११८८ नम्बरको यात्रुबाहक बस शुक्रबार ४:४० बजे लम्कीचुहा नगरपालिका ३ स्थित बल्चौर नजिकै दुर्घटना भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

 

प्रहरीका अनुसार साइकलमा सवार व्यक्तिलाई बचाउन खोज्दा बस पल्टिएको हो। प्रहरीका अनुसार दुर्घटनामा परी साइकलमा सवार लम्कीचुहा नपा ३ स्थित बल्चौरका १४ वर्षीय अनिल बादीको ज्यान गएको छ भने बसमा सवार अर्का एक जनाको पनि मृत्यु भएको छ।

 

अनिल र नाम नखुलेका गम्भीर घाइते दुवै जनलाई थप उपचारको लागि टीकापुर अस्पताल लगिएमा उपचारका क्रममा मृत्यु भएको हो। अन्य चार जनाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।