नयाँ बसपार्कमा बिहानैदेखि घुइँचो दशैँमा घर जान टिकट बुकिङकाे लागि

काठमाडौं असाेज ९। काठमाडौंमा मंगलबारदेखि अग्रिम टिकट बुकिङ खुला भएपछि राजधानीका टिकट बुकिङ काउन्टरहरूमा बिहानैदेखि घुइँचो लागेको हो ।

 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिअनुरुप सार्वजनिक यातायातको भाडादर समायोजन भएपछि आजदेखि टिकट बुकिङ खुला गरेको बताउंछन् । आज डँडेल्धुरा, बाजुरा, बझाङ, कैलाली, धनगढी, महेन्द्रनगर, दार्चुला, झापा, मोरङ, सुनसरी, ताप्लेजुङलगायत लामो दूरीमा चल्ने बसको टिकट वितरण भएको हो ।

उपत्यकाबाट दशैँमा घर जानका लागि टिकट लिने यात्रुको घुइँचो लागेको छ । 

यसअघि गत शुक्रबारदेखि नै टिकट बुकिङ खुला गर्ने भनिए पनि गाडीभाडा वृद्धि, रोकिएका खाता सञ्चालन गर्नुपर्ने माग राख्दै महासंघले टिकट बुकिङ रोकेको थियो। कम्पनी र प्रालिले सरकारले घोषणा गरेको असोज ५ देखि नै टिकट बुकिङ खुला गरे पनि समितिले भने पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गरेर अग्रिम टिकट बुकिङ खुलाएका थिएनन् ।

पश्चिम नेपाल जाने टिकट खुलेन

अर्घाखाँची जाने टिकट काट्न बिहान २ बजेदेखि कीर्तिपुरबाट नयाँ बसपार्क पुग्नुभएकी राधा शर्मा पनि टिकट बुकिङ खुला नहुँदा अलमलमा हुनुहुन्थ्यो । पश्चिम नेपाल यातायात व्यवसायी सङ्घ भने नयाँ बसपार्क सञ्चालनको जिम्मेवारी लिएको ल्होत्से बहुउदेश्यीय प्रालिले टिकट काट्नका लागि ठाउँ उपलब्ध नगराउँदा आफूले टिकट काट्न नसकेको बताउँछन् ।

 

पश्चिम नेपाल यातायात व्यवसायी सङ्घले टिकट नखुलाउँदा पश्चिम नेपालका पाल्पा, गुल्मी, अर्घाँखाची, बुटवल, भैरहवालगायतका जिल्लामा जाने यात्रुले टिकट पाउन सकेका छैनन् । गुल्मीको तम्घास जान सोमबार बेलुका ९ बजे टिकट काट्न बसपार्क पुग्नुभएका विष्णु पोखरेल टिकट बुकिङ नहुँदा अन्योलमा पर्नुभएको छ । काठमाडौँको कोटेश्वरमा बस्ने उहाँ टिकट पाउने आशमा हिजोदेखि नै बसपार्क आएर बस्नुभएको थियो ।

 

ल्होत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर असोज ५ गतेदेखि अग्रिम टिकट खुल्ने भनेर असोज ४ गते नै सबै समिति र प्रालिलाई टिकट काउण्टर छुट्याइसकिएको बताउनुहुन्छ । एक हजार सवारी साधन पार्किङ गर्न सकिने नयाँ बसपार्कमा हाल देशका विभिन्न भागमा जानका लागि ७४ काउण्टर सञ्चालनमा रहेका छन् ।

 

दशैँ शुरु भएसँगै नयाँ बसपार्क क्षेत्रको सुरक्षा बढाइएको छ । नेपालको एक मात्र राष्ट्रिय बसपार्कबाट दशैँका लागि लाखौँ मानिस बाहिरिने भएकाले सो क्षेत्रको सुरक्षा बढाइएको हो । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख एवं प्रहरी निरीक्षक मोहनविक्रम केसी दशैँको सुरक्षाका लागि थप जनशक्ति माग गरिएको बताउंछन् । “दशैँमा आपराधिक गतिविधि नहोस् भन्नका लागि दशैँ सुरक्षा योजनासमेत तयार गरिसकेका छौँ”, उनी भन्छन् ।