देउसी–भैलोको रकमबाट यूवाहरूले गरे उदाहरणीय कार्य

बौनिया, कार्तिक २८ । तिहार सकिएसंगै देउसी–भैलोबाट संकलन भएको रकमले पिकनिक जाने प्रचलन बढेका बेला कैलालीको बर्दगोरियाका यूवाले उदाहरणीय कार्य गरेका छन् ।

 

गाउँपालिकाको वडा नम्बर९३ खैरेनीमा सामूहिक देउसी–भैलो खेलेर उठेको रकम सामाजिक कार्यमा खर्च गरेका हुन् । मंगलबार एक कार्यक्रमको आयोजना गरि खरिद गरिएको सामान वडा जनप्रतिनिधि र स्थानीयको भेलामा सार्वजनिक गरिएको हो ।

 

समाजसेवी डिलबहादुर गौतमको संयोजकत्व र शेरबहादुर ओलीको नेतृत्वमा रामजानकी समूहले देउसीभैलो खेलेर संकलन भएको रकमले सामान खरिद गरेको बताएका छन् । उनीहरूले सामाजिक कार्य प्रयोजनका भाँडाकुडाका सामान खरिद गरेका छन् । देउसी भैलोबाट संकलन भएको ३३ हजार ४ सय ५ रुपैयाको जिन्सी सामान खरिद गरिएको स्थानीय अर्जुन जैसीले जानकारी दिए ।

 

उक्त सामाग्री सहुलियत दरमा सामाजिक काममा दिइने र कोष स्थापना गर्ने बताइएको छ । पछिल्लो समय स्थानीय स्तरमा देउसी भैलो खेलेर संकलन भएको रकम खानपिनमा खर्च गर्ने परिपाटीले समाजमा सकारात्मक सन्देश नदिने भन्दै उनीहरूले यस्तो कार्य गरेका हुन् । देउसीभैलो मनोरञ्जनका लागि मात्रै नभइ संस्कृति जोगाउन र समाजका लागि खेलिएको स्थानीय रविलाल जैशीले बताए । सो वडामा नागरिक सचेतना केन्द्रका महिलाले समेत देउसी भैलोबाट संकलन भएको रकमको सामान खरिद गर्ने बताएका छन् ।

 

गाउँपालिकामा यूवा, बाल क्लब, विद्यालय, संघसंस्थाले विभिन्न ठाउँमा देउसी भैलो खेलेर रकम मनोरञ्जनमा खर्चिरहेका बेला यूवाले भने अग्रसरता देखाएका हुन् । सोही अवसरमा बर्दगोरिया गाउँपालिका न्यायिक समिति सदस्य टंकराज ओलीले संघ–संस्था, क्लब र यूवा समूहले देउसीभैलो खेल्ने र उठेको रकम फजुल खर्च गर्ने परिपाटी बढेका बेला सामाजिक प्रयोजनका सामाग्री खरिद गर्नु सकारात्मक र उदाहरणीय काम भएको बताए ।

 

‘पिकनिकमा खानपिन गरि मनोरञ्जन खर्च गर्ने प्रचलनले समाजमा सकारात्मक सन्देश दिदैन ।’ उनले भने, ‘संस्कृति र चाडपर्वमा सकि नसकी दान–दक्षिणा गरिएको रकम सही काममा सदुपयोग हुनुपर्छ ।’

 

देउसीभैलो खेलेर संकलन भएको रकमले पिकनिक जाने क्रममा दुर्घटना, झैझगडा र समाजमा अशान्ति हुने गरेको तितो यथार्थ भन्दा माथी उठेर सामाजिक विकास, निर्माणका काममा एकजुट हुनु अत्यन्तै राम्रो काम भएको ओलीले बताए ।

 

यूवामा सामाजिक सद्भाव र सहयोग गरौ भन्ने भावनाको बिकास हुन जरुरी रहेको भन्दै उनले यस किसिमका कामले सबैलाई आगामी दिनमा स्थानीय स्तरमा केही गर्नुपर्छ भन्ने प्रेरणा मिल्ने समेत बताए । कार्यक्रममा वडाअध्यक्ष कर्ण सुनारले स्थानीय यूवाले सार्वजनिक सेवाका लागि खर्च गर्नु प्रसंशायोग्य काम भएको भन्दै खुसी व्यक्त गरे ।

 

उनले खानपिन र भ्रमण भन्दा सामाजिक सहयोग र बिकास निर्माणमा खर्च गर्नु उचित काम भएको बताए । ‘मनोरञ्जन भन्दा समाजका जेष्ठ नागरिक, असहाय, अशक्त र गरीब बालबालिकाको हित र मानवीय सेवामा खर्च गर्नु ठीक हो ।’ उनले भने, यस किसिमका कामले सामाजिक सहयोग, सद्भाव मात्र नभइ स्थानीय स्तरमा रहेका क्लब, संघसंस्था र दाजुभाई, दिदिबहिनीलाई रकम अनावश्यक रुपमा खर्च नगर्न सचेतना दिन्छ ।’

 

यस्तो काम अग्रसरता देखाउने यूवालाई सामाजिक कार्यमा एकजुट हुन सबैले प्रेरणा दिनुपर्छ। वडाअध्यक्ष सुनारले सामाजिक काममा सक्रियता देखाउने यूवा, महिला समूह, क्लब र संघ–संस्थाका लागि आफूले जुनसुकै बेलामा पनि वडा कार्यालयबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

 

जिल्लाका विभिन्न स्थानीय पार्क, तालतलैया, मन्दिर लगायतका पर्यटकीय स्थलमा अहिले दिनहुँजसो पिकनिक जानेको संख्या बढ्न थालेको छ । देउसी भैलोबाट संकलित रकमबाट थोरैले सामाजिक सेवामा खर्च गर्ने भएपनि अधिकांशले भ्रमण र पिकनिकमा सिद्धयाउने गरेको पाएको छ ।

 

सरोकारवालाहरुले भने देउसी भैलोबाट संकलित रकम अनुत्पादक क्षेत्रमा खर्च भईरहेको बताएका छन् । संकलित रकम मनोरञ्जनमा मात्रै बीसदेखि पच्चिस प्रतिशतसम्म खर्च भइरहेको बताए । मनोरञ्जनमा भन्दा सामाजिक सेवामा खर्च गरे धेरै काम गर्न सकिने उनीहरुको सुझाब रहेको छ ।