बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकमा गौतम र नारायणकाजी प्रधानमन्त्री ओली बिरुध पड्किएपछि

काठमाडौं मंसिर ७ – प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली आफ्नै पार्टीका नेतासँग रुष्ट बनेका छन्। पार्टीका केही नेताले आफ्नो र सरकारको हुर्मत लिने प्रयास गरेको भन्दै उनले आक्रोश पोखेका हुन्।

गएको बुधवार झलक गैरे लगायत १८ जना केन्द्रीय सदस्यले ज्ञापन पत्र बुझाउँदै केन्द्रीय समिति बैठक बोलाउन माग गरेपछि ओली चिन्तित बनेका हुन्। उनले पार्टीभित्रैबाट आफ्नो हुर्मत लिने काम भएको भन्दै तत्काल केन्द्रीय समिति बैठक नबोलाउने जवाफ दिएपछि विहीवार बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकमा वामदेव गौतम र नारायणकाजी श्रेष्ठले प्रतिवाद गरेका थिए।बालुवाटार बैठक स्रोतका अनुसार ओलीले केही केन्द्रीय सदस्यहरुले ज्ञापन पत्र बुझाएको कुरा आफूले मिडियाबाट थाहा पाएँको भन्दै जसरी हुन्छ नेतृत्वको हुर्मत लिने काम सुरु भएको र यो काम पार्टीभित्रैबाट हुन थालेको गुनासो गरेका थिए। यो चिन्ताजनक विषय भएको उनको टिप्पणी थियो।

 

केन्द्रीय समिति बैठकको माग गर्दै केन्द्रीय सदस्यहरुले बुझाएको ज्ञापनपत्रलाई ओलीले आफूविरुद्धको प्रहारका रुपमा लिएपछि विहीवारको बैठकमा वामदेव र नारायणकाजी लगायत नेताले केन्द्रीय सदस्यहरुले उठाएका एजेण्डाहरुमाथि छलफल गर्नुपर्ने अडान लिएका थिए।

 

पार्टी एकता, सरकारको काम कार्वाहीको समिक्षा, पार्टी अनुशासनको कुरा, केन्द्रीय सदस्यको माग सम्बोधनका लागि बैठक बोलाउनैपर्ने उनीहरुको तर्क थियो। वामदेव र नारायणकाजीले अडान राखेपनि ओली भने केन्द्रीय समिति बैठक बोलाउन अनइच्छुक रहे। नेकपा केन्द्रीय सचिवालय बैठक शुक्रवार पनि बस्दैछ। केन्द्रीय समिति बैठक बोलाउने निर्णय आजको बैठकमा हुनसक्ने बताइएको छ।