गाउँमै एम्बुलेन्स सेवा

दमौली, चैत ६। तनहुँको भिमाद नगरपालिका–१ किहुँमा एम्बुलेन्सको सुविधा पुगेपछि स्थानीयवासी खुशी भएका छन् । गाउँमै एम्बुलेन्स नहँुदा महँगो शुल्क तिरेर अस्पतालसम्म जानुपर्ने बाध्यतामा रहेका यहाँका स्थानीयवासी गाउँमै सेवा पाउने भएपछि खुशी भएका हुन् ।

 

स्थानीय शङ्कर वाग्लेले गाउँमै एम्बुलेन्सको सेवा भएपछि अब यहाँका वासिन्दालाई सहज भएको बताउनुभयो । उहाँका अनुसार एम्बुलेन्सको अभावमा ट्याक्सी वा जिप रिजर्भमा बोलाएर बिरामीलाई अस्पतालसम्म पु¥याउनुपर्ने बाध्यता थियो ।

 

उहाँले भन्नुभयो, “ट्याक्सी, जिप रिजर्भमा बोलाए पनि घण्टौँ कुर्नुपर्ने अवस्था त थियो नै अर्कोतिर चर्को मूल्य तिनुपर्ने बाध्यता पनि थियो । तर गाउँमै एम्बुलेन्स आएपछि अब त्यस्तो बाध्यता हट्यो ।” उहाँका अनुसार कुनै बेला गाडी नपाउँदा त बोकेरै भिमाद बजारसम्म झार्नुपर्ने अवस्थासमेत रहेको थियो । एम्बुलेन्सबाहेक अन्य सवारीसाधनमा बिरामी ल्याउनुपर्दा एकतर्फी मात्र रु चार हजार ५०० तिर्नुपर्ने बाध्यता थियो ।

 

नगरपालिका वडा नं १ र २ ले महायज्ञबाट सङ्कलित रकमले एम्बुलेन्स खरीद गरेपछि स्थानीयवासीलाई सहज भएको छ । गत साउन २८ देखि भदौ ५ गतेसम्म सञ्चालन गरिएको महायज्ञबाट सङ्कलित रकमले एम्बुलेन्स खरीद गरी सञ्चालनमा ल्याइएको वडा नं २ का अध्यक्ष भवानीशङ्कर लम्सालले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार महायज्ञबाट सङ्कलित रकममध्ये रु १० लाख २० हजारको लागतमा एम्बुलेन्स खरीद गरिएको छ । महायज्ञमा रु ३५ लाख १४ हजार सङ्कलन भएको थियो । रु ४० लाख २० हजार मूल्य पर्ने एम्बुलेन्स भन्सार छुट गरेर रु १० लाख २० हजारमा खरीद गरिएको उहाँले जानकारी दिनुभयो ।

 

उहाँले भन्नुभयो, “महायज्ञ सकिएलगत्तै एम्बुलेन्स खरीद प्रक्रिया शुरु गरेका थियौँ । भन्सार छुटका लागि स्वास्थ्य मन्त्रालय र अर्थमन्त्रालयको सिफारिस पाउन समय लागेकाले गाउँमा एम्बुलेन्स ल्याउन ढिलाइ भयो । केही महीना एम्बुलेन्स सञ्चालनको अवस्था हेर्ने र आवश्यक परेमा बाँकी रकमले थप एम्बुलेन्स पनि खरीद गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

 

स्थानीय बासिन्दाले एम्बुलेन्स सञ्चालनका लागि भिमाद अरुणोदय स्वास्थ्य परोपकार संस्था दर्ता गरेका छन् । उक्त संस्थाले एम्बुलेन्स सञ्चालन गर्ने, भाडा निर्धारण गर्ने र कर्मचारीको व्यवस्थापन गर्नेलगायतका काम गर्ने संस्थाका अध्यक्ष तुलसी सुवेदीले बताउनुभयो ।

 

शुरुमा किहुँबाट भिमादसम्म एम्बुलेन्सको दोहोरो भाडा रु एक हजार ५०० कायम गरिएको छ । उहाँले भन्नुभयो, “अहिले शुरुको चरणमा भाडादर कायम गरेका छौँ, पछि छलफलपछि थपघट हुन पनि सक्छ ।” यस ठाउँमा सडक सञ्जाल जोडिएकोे २० वर्ष पुगिसकेको छ । सडक खनेपछि गाउँबाट गाडी चल्न थालेको पनि १८ वर्ष पूरा भइसकेको छ । बिहान गाउँबाट बजार झर्ने र बेलुका गाउँ फर्कने सवारीबाहेक नियमित अरु चल्दैनन् ।रासस,