गृह मन्त्रालयको सहसचिव भन्दै साढे पाँच करोड ठगी

काठमाडौं, चैत १२ । गृह मन्त्रालयको बहालवाला सहसचिव बताउँदै साढे पाँच करोड ठगी गर्ने रौतहट गौर–१ का ५७ वर्षीय सत्येन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

 

परिसरमा ६ जनाले जाहेरी दिएपछि यादवलाई पक्राउ गरिएको प्रवक्ता डिएसपी होविन्द्र बोगटिले जानकारी दिनुभयो । बोगटीका अनुसार यादवले ६ जनाबाट मात्रै एक करोड ८४ लाख रुपैयाँ असुल गरेका थिए ।

 

प्रहरीका अनुसार सत्येन्द्र यादव उर्फ वीरेन्द्र अधिकारी वीर अस्पतालको सातौँ तहका डार्करुम टेक्निसियन हुन् ।याे समाचार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।

 

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई तारकेश्वर नगरपालिका पाँचपानेस्थित एक रिसोर्टबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले क्यानाडा लैजाने भन्दै ७० जनाभन्दा धेरै युवासँग रकम असुलेका थिए ।