आजबाट सङ्घीय संसदको अधिवेशन

काठमाडौँ, वैशाख १६ । सङ्घीय संसद्को चौथो अधिवेशन सोमबारबाट सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ४स्०० बजे अधिवेशन आह्वान गर्नुभएको हो । अधिवेशन सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस, बजेट प्रस्तुत तथा संविधान कार्यान्वयनका कानुन निर्माणमा केन्द्रित हुनेछ ।

 

तेस्रो अधिवेशन अन्त्य भएको एक महिनापछि चौथो अधिवेशन आह्वान गरिएको हो । चालु अधिवेशन सरकारका वार्षिक कार्यक्रम र कानुन निर्माणमा केन्द्रित हुने प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जानकारी दिनुभयो

 

उहाँले भन्नुभयो, “सोमबारबाट चौथो अधिवेशन सुरु हुँदैछ । चौथो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, प्रिबजेट छलफल तथा बजेट प्रस्तुत मुख्य कार्यसूची नै हुन् । यस्तै, विचाराधीन विधेयकलाई प्राथमिकताका आधारमा अगाडि बढाइनेछ । प्रश्नोत्तर, विभिन्न प्रस्तावमा छलफल पनि निरन्तर अगाडि बढाइनेछ ।”

 

अधिवेशनमा सरकारको कार्यक्रम नै प्रमुख रहनेछ । नीति तथा कार्यक्रमका लागि वैशाख २० गतेको समय तय भइसकेको छ । यो पटक नीति तथा कार्यक्रमपछि प्रि बजेट छलफल हुनेछ । यसअघि प्रिबजेट छलफलपछि मात्र नीति कार्यक्रम पेस हुने गरेको थियो ।

यस्ता हुनेछन् मुख्य कार्यसूची

चौथो अधिवेशनको पहिलो दिनका सम्भावित कार्यसूची दुबै सदनले तयार पारिसकेका छन् । बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाइनेछ । यस्तै दुबै सदनमा सभाध्यक्षको अनुपस्थितिमा बैठक सञ्चालका लागि ‘स्पिकर प्यानल’को चयन हुनेछ । हरेक अधिवेशनमा उक्त प्यानमा रहनेका नाम घोषणा गरिन्छ ।

 

यसैगरी बैठकमा राजनीतिक दलका नेताले सम्बोधन गर्ने प्रचलन छ । आइतबारसम्म राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने वा नगर्ने स्पष्ट भएको छैन ।

सोमबार दिउँसो १ः०० बजे कार्यव्यवस्था परामर्श समिति बैठक बोलाइएको छ । सो बैठकले उक्त समय निर्धारण गर्नेछ । यसअघिको अभ्यास अनुसार भने अधिवेशन सुरु हुँदा शीर्ष नेताहरूले सम्बोधन गर्ने प्रचलन छ । सभामुख महराले राजनीतिक दलका नेताको सम्बोधनबारे सोमबार मात्र तय हुने बताउनुभयो ।

 

बैठकमा शोक प्रस्ताव पारितको कार्यसूची पनि रहनेछ । अधिवेशन नभएको बेलामा मृत्यु भएका पूर्व सांसद्हरुको शोक प्रस्ताव सोमबार पेस हुनेछ । सोमबारको बैठकमा २०४८ मा गुल्मी ३ बाट निर्वाचित रुद्रमणि शर्मा, यस्तै, २०४८ र ०५६ मा रुपन्देही २ बाट निर्वाचित रामकृष्ण ताम्राकार, २०६४ को संविधानसभा सदस्य दिवाकर गोल्छाको निधनमा शोक प्रस्ताव पारित हुनेछ । यस्तै, राष्ट्रियसभाका पूर्व सदस्य भिक्षु अश्वघोषको निधनमा शोक प्रस्ताव पारित हुनेछ । अश्वघोष २०५० मा राष्ट्रियसभा सदस्य हुनुहुन्थ्यो ।

कति छन् विधेयक

संघीय संसदका दुबै सदनमा गरी २९ विधेयक विचाराधीन छन् । ती विधेयकहरू चौथो अधिवेशनमा पेस हुनेछन् । अन्य २६ विधेयक विभिन्न अवस्थामा विचाराधीन नै छन् । प्रमाण ऐन संशोधन विधेयक, राष्ट्रिय मानवअधिकार आयोग ऐन संशोधन विधेयक, औद्योगिक व्यवसाय सम्बन्धी कानुनलाई एकीकृत गर्न बनेको विधेयक नयाँ दर्ता भएका हुन् ।

 

नागरिकता ऐन संशोधन विधेयक, सङ्घीय निजामती सेवा ऐन संशोधन विधेयक, प्रदेश प्रहरी विधेयक लगायत विधेयक समितिमा विचाराधीन छन् । समितिमा विचाराधीन रहेका विधेयक प्राथमिकताका आधारमा अगाडि बढाउने सरकारको तयारी छ । गोरखापत्र दैनिकमा खबर छ ।