राष्ट्रपतिलाई कार्यकारी प्रमुखको हैसियत,प्रधानमन्त्रीले दिन खोजेको भन्दै कांग्रेसको गम्भीर आपत्ती

काठमाडौँ,बैशाख २१। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले राष्ट्रपतिलाई कार्यकारी राष्ट्र प्रमुखको हैसियत दिन खोजेको भन्दै गम्भीर आपत्ती जनाएको छ।

 

शनिबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले संंघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई राजामहाराजाको जस्तो गरि कार्यकारी राष्ट्र प्रमुखको हैसियत दिएको ठहर गरेको हो।

 

शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भन्ने शब्दावली प्रयोग गर्नु सैद्धान्तिक रुपमै गलत भएको दाबी कांग्रेसले गरेको छ।

 

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारको नीति तथा कार्यक्रममा प्रयोग भएको भाषा संशोधन गरिनुपर्ने बताए। उनले भने, ‘मेरो सरकार भन्नु सैद्धान्तिक रुपमा नै गलत हो। प्रधानमन्त्री ओली जीले विद्यादेवी भण्डारीलाई कार्यकारी राष्ट्रपति जस्तो या राजामहाराजा जस्तो पोजिसनमा राख्न खोजिरहेको जुन खालको बजारमा हल्ला भएको थियो त्यसलाई अझै अगाडि बढाउने ढंगले ल्याईएको छ। यो विल्कुलै संसोधन गर्नुपर्छ।’

 

कांग्रेसले नीति तथा कार्यक्रमलाई साधन स्रोत बिनाको पुलिन्दा को संज्ञा दिएको छ। कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो गराई स्थानीय सरकारलाई क्रियाशिल गराउने भन्दा पनि राजकिय शक्तिलाई केन्द्रीकृत गर्ने ढंगको नीति तथा कार्यक्रम आएको जनाएको छ। सरकारको नीति तथा कार्यक्रमले नेपाली नागरिकको जीवनलाई परिर्वतन गर्न नसक्ने निष्कर्ष कांग्रेसले निकालेको छ।

 

प्रमुख सचेतक खाँडले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो गराउने, स्थानीय सरकारलाई क्रियाशिल गराउने सोच नभएको तथा राजकीय शक्तिलाई केन्द्रीकृत गर्ने खालको नीति कार्यक्रम आयो। साधन स्रोत बिनाको एउटा पुलिन्दा जसले सपना बांड्न सक्छ तर यथार्थ रुपमा आम नेपाली नागरिकको जीवनलाई परिर्वतन गर्न सक्दैन। नीति र कार्यक्रमको आधारशिला नै कमजोर छ। यसको सोचाई र दृष्टिकोणहरु नै कमजोर छन्। यसको प्रस्तुती करण नै पुराण जस्तो छ।’

 

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनि सम्बोधन गरेको भन्दै चौतर्फी आलोचना हुदै आएको छ।