६१ करोड भ्रष्टाचार गर्ने लेखापालविरुद्ध मुद्दा

काठमाडौं,बैशाख २४। यातायात व्यवस्था कार्यालय कोसीका तत्कालीन लेखापाल सुरेश अधिकारीविरुद्ध अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध पाँच करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँ बिगो दाबी गरी सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अधिकारीले चार श्रीमतीका नाममा सम्पत्ति राखेको अनुसन्धानमा खुलेको छ ।

उनका चार श्रीमतीमा दुर्गा अधिकारी, दीपा श्रेष्ठ अधिकारी, सुस्मिता अधिकारी र सोममाया श्रेष्ठ छन् । सबैका नाममा अकुत सम्पत्ति राखेको पाइएकाले उनीहरूविरुद्धसमेत मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए  । अधिकारीले सासू पुष्पकुमारी निरौला र मामा नाताका बलराम शर्मासमेतको नाममा पनि सम्पत्ति राखेकाले उनीहरूविरुद्ध आयोगले मुद्दा दायर गरेको छ ।

दुई वर्षअघि नै ६१ करोड राजस्व हिनामिनाको मुद्दा दर्ता

अधिकारीविरुद्ध दुई वर्षअघि ६१ करोड रुपैयाँ राजस्व हिनामिनाको अभियोगमा मुद्दा दायर भएको थियो । उनले वर्षौंसम्म कार्यालयका अन्य कर्मचारीलाई प्रभावमा पारेर कागजमा राजस्व जम्मा भएको देखाएर आफैँले हिनामिना गर्दै आएका थिए । जसमा तीन उपसचिवसहित आठजनाविरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन छ । त्यसरी कमाएको सम्पत्ति उनले मोजमस्तीमा सकाएका थिए । उनको विभिन्न ठाउँमा घरजग्गा रहेको आयोगले जनाएको छ ।

गाविस सचिवबाट सरकारी सेवा सुरु

अधिकारीले ०५९ मा गाविस सचिवबाट सरकारी सेवा सुरु गरेका थिए । ०६० देखि ०६५ सम्म नेपाल टेलिकमको चौथो तहमा काम गरे । ०६५ चैतमा निजामतीतर्फ लेखापालका रूपमा नियुक्त भएका थिए । ०६७ देखि ०७४ सम्म यातायात व्यवस्था कार्यालय इटहरीमा काम गरेका थिए । पटक–पटक सरुवा हुँदा पनि रमाना नलिई उनी त्यहीँ बस्दै आएका थिए । राजस्व हिनामिना भएको सूचनाका आधारमा यातायात व्यवस्था विभागले छानबिन टोली गठन गरी अनुसन्धान गर्दा अनियमितता देखिएपछि अख्तियारलाई पत्राचार गरेको थियो । यो खबर आजको नयांपत्रिका दैनिकमा छ ।