२ तोलाको सुनको सिक्री र ८ लाख ५० हजार नगद लुटपाट गरेर फरार

काठमाडौं,असार १७।नागार्जुन नगरपालिका-३ मिलन चोक बस्ने ३६ वर्षीया निर्मला घिमिरेको साथबाट २ तोलाको सुनको सिक्री सोमबार दिउँसो लुटपाट भएको छ ।

 

नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरुले घिमिरेले घाँटीमा लगाएको उक्त सिक्री लुटी फरार भएको बताइएको छ ।

 

त्यसैगरी रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका-३ रन्मा बस्ने २९ वर्षीय बालाराम परियारको साथबाट नगद ८ लाख ५० हजार रुपैयाँ सोमबार दिउँसो लुटपाट भएको छ ।

 

रन्माबाट पिपलटुङतर्फ खच्चर लिएर जाने क्रममा सोही गाउँपालिका-५ स्थित जंगलमा नकावधारी ४ जनाको समूहले परियारलाई खुकुरी देखाई कुटपिट गर्नुका साथै उनको साथमा रहेको उक्त नगद लुटपाट गरी फरार भएको बताइएको छ ।

 

लुटपाटमा संलग्न फरार अभियुक्तहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।