जिप दुर्घटना हुँदा एक जनाको मृत्यु,दुई जना घाइते : मृतकको सनाखत(नामावलीसहित)

बैतडी, साउन ८। दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको खोडपेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुका ३५ वर्षीय इश्वर नागरी रहेका इलाका प्रहरी कार्यालय पाटन प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिए।

 

दुर्घटनामा पनि दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा दार्चुलाको महाकाली नगरपालिका ९ दत्तुका २३ वर्षीय पुस्कर नागरी र २२ वर्षीय हिक्मत समान्त रहेका छन् । घाइतेमध्ये पुस्करको अवस्था गम्भीर रहेको छ । उनलाई उपचारको लागि धनगढी लगिएको छ । हिक्मतको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक नागरीको शव परिक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

 

दार्चुलाबाट धनगढी जाँदै गरेको ग १ ज ५२२४ नम्बरको जिप बुधबार बिहान सवा ५ बजेतिर पाटन नगरपालिका–८ खोड्पेको बन्तड भन्ने भीरमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बाक्लो कुहिरो तथा साघुँरो सडक भएका कारणले जिप दुर्घटनामा परेको प्रहरीको अनुमान रहेको छ ।

 

यसैबीच बैतडीबाट कैलालीको धनगढी जाँदै गरेको जिप कैलालीको बुढितोलामा दुर्घटनामा परेको छ । बैतडीको पञ्चेश्वरबाट धनगढी जादैंै गरेको से १ ज १०७८ नम्वरको बोलेरो जिप बुधबार बिहान ८ बजेतिर बुढितोला नजिकै दुर्घटना परेको हो ।

 

जिप दुर्घटना हुँदा जिपमा सवार ६ जना घाइते भएका कैलाली प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा बैतडीको तल्लोस्वराडका हजारी चन्द, दुर्गा चन्द, जनक चन्द, रमेश चन्द, शिव कडेल र यमकान्त भुषाल रहेका छन् । पानी परिरहेको र बाक्लो हुस्सु कारण जिप दुर्घटनामा परेको प्रहरीको अनुमान रहेको छ ।