भारतले भन्यो– कालापानी क्षेत्र भारतकै हो, नक्सा परिवर्तन हुँदैन

काठमाडौं, पुस १८ । नेपालले कालापानी आफ्नो भनी दाबी गरिरहँदा भारतीय पक्षले भने कालापानी आफ्नो देशको सार्वभौम क्षेत्र भएको दाबी गर्दै कुनै पनि हालतमा नक्सा परिवर्तन नगर्ने प्रस्ट पारेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले सीमाको विषयमा भारत स्पष्ट रहेको बिहीबारको प्रेस ब्रिफिङमा बताएका छन् ।

 

साप्ताहिक पत्रकार सम्मेलनमा उनले भने, ‘कालापानी क्षेत्र भारतको मानचित्र हो, सार्वभौम क्षेत्र हो ।’ उनले सीमाको विषयमा कुनै विवाद नभएको समेत स्पष्ट पारेका छन् । उनले आफूहरूले जारी गरेको नयाँ नक्सा सही भएको दाबी गरे । ‘हाम्रो नक्साले ठीकसँग भारतको भूभागलाई समेटेको छ,’ उनले भने, ‘यसले नेपाललाई कुनै असर गर्दैन ।’

 

नेपाललाई हानि–नोक्सान पु¥याउने गरी आफ्नो राजनीतिक नक्सा नबनेको समेत उनले पत्रकार सम्मेलनमा बताए ।

भारतले सीमा नक्सा परिवर्तन नगर्ने समेत जनाएको छ । भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेपछि सीमा नक्सामा कुनै परिवर्तन हेरफेर नहुने यसअघि पनि संकेत देखाइसकेको थियो ।

भारतीय पक्षले नेपालको भूमि मिचेको भन्दै राजनीतिक नक्सा परिवर्तन गरेर कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता गर्न सरकारलाई दबाब छ । यता, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिहीबार राष्ट्रिय सभामा प्रारम्भमा नक्सा परिवर्तन गरी त्यसकै आधारमा सीमा सार्ने भारतको प्रवृत्ति भएको बताएका छन् । उनले सीमा नक्सा भारतले कोर्दैमा कालापानी क्षेत्र भारतको हुन नसक्ने बताए । राजधानी दैनिकमा खबर छ।