राज्यमन्त्रीका सल्लाहकारबाटै किशोरी बलात्कृत

काठमाडौं, फागुन १४ ।बाहलवाला  शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घलेलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेकाे छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ५२ वर्षीय अमृतकुमार घलेलाई नियन्त्रणमा लिएको हो। घले बाहलवाला शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका सल्लाहकार रहेको खुलेको छ।  

 

सिन्धुली घर भई काठमाडौं बसेर कक्षा १२ मा पढ्दै गरेकी एक किशोरीलाई बलात्कार गरेको पाइएपछि प्रहरीले घलेलाई पक्राउ गरेको छ। काठमाडौं नयाँबजार जान बनेपामा बस पर्खेर बसेकी किशोरीलाई घलेले सम्बन्धित ठाउँ पुर्‍याइदिन्छु भन्दै आफ्नो मोटरसाइकलमा हालेर ल्याएका थिए। 

 

किशोरीलाई अमेरिका पठाइदिन्छु भन्दै आफ्नो कोठामा लगि किशोरीलाई बन्धक बनाई बलात्कार गरेको आरोप छ । पक्राउ परेका घलेविरुद्ध अपहरण तथा शरीर बन्धक र बलात्कार मुद्दामा अनुसन्धान भइरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले बताए।